काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सीमित स्वार्थ र षड्यन्त्रका कारण एकीकरण निष्कर्षमा पुग्न नसकेको बताएका छन् । नेकपा एमाले र माओवादी केन्द्रलाई अदालतले अलग गर्ने फैसला गरेपछिको अवस्थामा यो एकीकृत पार्टीको प्रथम विधान महाधिवेशन भएको उनको दाबी छ ।
विशाल योजनाका साथ भएको पार्टी एकता भंग भएको बताउँदै उनले एमाले एकीकृत पार्टीको धार भएको बताए । केही व्यक्तिहरू एमालेबाट पदलोलुपताका कारण बाहिरिएको उनले आरोप लगाए । पार्टीमाथि नयाँ घेराबन्दी भएको उनको भनाइ छ ।
उनले २०७५ जेठ ३ मा माओवादीसँग एकता नभएको भए यो विधान महाधिवेशन दुई वर्षअघि नै भइसक्ने पनि बताएका छन् । ‘माओवादीसँग एकता नभएको भए यो महाधिवेशन भइसक्थ्यो’, उनले भने, ‘अहिले आएर केही व्यक्तिले नेपालको कम्युनिष्ट आन्दोलनलाई नै बदनाम गरेका छन् । केही व्यक्तिले संगठनमा अराजकता र पदलोलपुतालाई प्राथमिकता दिए ।’
ओलीले अहिले आएर एमालेविरुद्ध घेराबन्दीका नयाँ श्रृंखला सुरु भएको पनि बताएका छन् । ‘पार्टीविरुद्ध घेराबन्दी र आक्रमणका नयाँ श्रृंखला सुरु भएका छन्’, उनले भने, ‘राष्ट्रिय हितमाथि आक्रमण भएर मुलुकको भविष्य जोखिममा परेको छ ।’
