कृष्ण कुँवर (कर्नेलियस) अबुधाबी — रोजगारीको प्रलोभनमा नेपाली नागरिकलाई भिजिट भिसा तथा व्यक्तिगत श्रम भिसामार्फत यूएई ल्याएर अलपत्र पार्ने र रकम ठगी गर्ने घटना देखिएको भन्दै नेपाली महावाणिज्यदूतावास, दुबईले नेपाली नागरिकलाई सचेत गराएको छ।
रोजगारीका लागि यूएई आउँदा भिजिट भिसाको बाटो नअपनाई संस्थागत तथा सुरक्षित रोजगारी भिसामार्फत आउन दूतावासले आग्रह गरेको छ।
दूतावासका अनुसार नेपाली नागरिकलाई नेपालमै ठूलो रकम बुझाउन लगाई अन्य मुलुकहरूको भिजिट भिसामार्फत काठमाडौं विमानस्थलबाट यात्रा सुरु गराउने, शारजाह वा दुबई ट्रान्जिट हुँदै सम्बन्धित मुलुकतर्फ लैजाने तथा व्यक्तिगत श्रम भिसामा यूएई ल्याएपछि सम्बन्धित कम्पनीसँग सम्पर्क हुन नसक्ने वा कम्पनीले बेवास्ता गर्ने घटना देखिएका छन्।
यूएई आएपछि काम खोज्ने क्रममा पुनः दलालको फन्दामा पर्ने र कानुनी झमेलामा पर्ने नेपालीको संख्या पनि उल्लेख्य रहेको दूतावासले जनाएको छ। रोजगारीको आशामा दलाललाई ठूलो रकम बुझाएर समस्यामा परेका नेपालीबाट महावाणिज्यदूतावासमा गुनासो आउने गरेको सूचनामा उल्लेख छ।
‘छिटो यूएई आएर काम खोज्ने’ सोचले जोखिम निम्त्याउन सक्ने भन्दै दूतावासले त्यस्तो बाटो नअपनाउन आग्रह गरेको छ। रोजगारीका लागि यूएई आउन चाहने नेपालीलाई स्थापित र भरपर्दो कम्पनीमा आफ्नो योग्यता तथा अनुभवअनुसारको काम खोज्न तथा यूएईमा रहेका परिवारका सदस्य वा आफन्तमार्फत भरपर्दो कम्पनी पहिचान गर्नसमेत सुझाव दिइएको छ।
महावाणिज्यदूतावासको चेतावनीसँगै यूएईमा रहेका नेपालीहरूले पनि रोजगारीका नाममा भइरहेको ठगी र शोषणबारे सामाजिक सञ्जालमार्फत गुनासो सार्वजनिक गरिरहेका छन्। काम लगाइदिने भन्दै रकम असुल्ने, भिसा लगाइदिने भन्दै पैसा लिएर सम्पर्कविहीन हुने, यूएई ल्याएपछि थप रकम माग्ने तथा कम्पनी परिवर्तन गरिदिने आश्वासन दिएर अलपत्र पार्ने जस्ता समस्या भोग्नुपरेको उनीहरूको गुनासो छ।
विदेशमा रोजगारीको आशामा आउने नेपालीको बाध्यता र विश्वासको फाइदा उठाएर आफ्नै नेपालीबाटै ठगी हुनु थप चिन्ताको विषय बनेको उनीहरूको भनाइ छ। दूतावास, नेपाली संघ-संस्था तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका गुनासाहरूमा काम लगाइदिने भन्दै रकम लिएर अलपत्र पारेको र भिसाका नाममा पैसा असुलेको उल्लेख गरिएको छ।
सेप्टेम्बर ११ मा जारी सूचनामा दूतावासले रोजगारीका नाममा हुने यस्ता ठगीबाट जोगिन संस्थागत र कानुनी माध्यमबाट मात्र यूएई आउन तथा सचेत रहन नेपाली नागरिकलाई आग्रह गरेको छ।
