काठमाडौं । सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई जेनजी समूहबाट नभई अपरिचित समूहबाट धम्की आएको स्पष्ट पारेको छ । सरकारले जबरालाई धम्की दिने समूहको पहिचान खुलिनसकेको जनाएको छ ।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की आएको जानकारी दिएका हुन् ।
प्रवक्ता पोखरेलका अनुसार जबरालाई फोन र टेक्स्ट म्यासेजमार्फत धम्की दिइएको थियो । धम्की दिने समूह जेनजी नभई अन्य कुनै अपरिचित समूह रहेको उनले स्पष्ट पारे ।
जबरालाई धम्की आएपछि सरकारले उनको सुरक्षालाई ध्यानमा राख्दै सुरक्षित स्थानमा राखेको प्रवक्ता पोखरेलले बताए । धम्कीको प्रकृति र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सरकारले आवश्यक सुरक्षा व्यवस्था मिलाएको उनको भनाइ छ ।
सरकारले पूर्वप्रधानन्यायाधीश जबरालाई धम्की दिने समूहबारे थप विवरण सार्वजनिक गरेको छैन । धम्कीको विषयमा अनुसन्धान तथा सुरक्षा व्यवस्थासम्बन्धी थप जानकारी भने आउन बाँकी छ ।
