काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ४२२ दशमलव ५ ग्राम सुनजस्तो देखिने पदार्थसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको दिल्लीका ४६ वर्षीय असलम शौकत रहेका छन् । विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार शौकत मुम्बईबाट इन्डिगो एयरको उडानमार्फत काठमाडौँ आएका थिए ।
प्रहरीका अनुसार गएराति विमानस्थलमा शौकत अस्वाभाविक रूपमा हिँडडुल गरिरहेको देखिएपछि सुरक्षाकर्मीले शङ्का गरी जाँच गरेका थिए । सो क्रममा उनको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइएको अवस्थामा ४२२ दशमलव ५ ग्राम तौलको सुनजस्तो देखिने पदार्थ बरामद भएको हो ।
बरामद पदार्थ सुन भए–नभएको सम्बन्धमा आवश्यक परीक्षण तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका शौकतलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको प्रवक्ता सिलवालले जानकारी दिए ।
