जनकपुरधाम– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयता र मुख्यमन्त्रीलाई बदनाम गर्नकै लागि अख्तियारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेको आरोप लगाएका छन्।
बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले साइकल खरिदमा अनियमितता भएको भन्दै छापा मारेर गएको केही घण्टापछि मुख्यमन्त्री राउतले पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यमन्त्रीलाई बदनाम गर्नकै लागि छापा मारिएको आरोप लगाएका हुन्।
‘प्रदेश सरकारको सर्वोच्च निकाय मुख्यमन्त्री कार्यालय आफैमा सुशासन कायम गर्ने स्थान हो। प्रदेशमा सुशासन कायम गर्नकै लागि प्रदेश सरकारले प्रदेश जनलोकपाल आयोग बनाएको छ। त्यस्तो ठाउँमा अख्तियारको टोली यस्तो शैलीमा छापा मार्यो कि प्रमाण नष्ट गरिन्छ’, उनले भने।
अख्तियारको टोलीले ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत साइकल वितरणमा अनियमितता भएको भन्दै फाइल नियन्त्रणमा लिएको छ।
