खोटाङ । खोटाङमा निर्माण भएर सञ्चालनमा आउन बाँकी नेपाल टेलिकमका १६ वटा टावर शीघ्र सञ्चालनमा आउने भएका छन् । निर्माण भएको लामो समय हुँदासम्म टावर जडान नसकिएको भन्दै खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विशाल भट्टराई सहितको टोली मंगलबार नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारी सहित सम्बद्ध अधिकारीहरू समक्ष डेलिगेसन गएपछि चाँडै काम सकाउन नेपाल टेलिकम तयार भएको हो ।
जिल्लामा अवस्थित २८ वटा टावर मध्ये १२ वटामा ‘फोर जी’ जडान भइसकेको छ भने बाँकी १६ वटा टावरमा पनि नोभेम्बर भित्रै ‘फोर जी’ जडान हुने भएको छ । १६ वटा टावर सञ्चालनमा आएपछि जिल्लाका लगभग सबै क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवाको पहुँच पुग्ने भन्दै सांसद भट्टराईले कथंकदाचित कुनै ठाउँमा टेलिफोन नलागेमा या इन्टरनेट नचलेमा थप टावर निर्माणका लागि पहल गर्ने समेत बताएका छन् ।
नेकपा (एमाले) को संसदीय दलका प्रमुख सचेतक समेत रहेका भट्टराईले आफ्नो फेसबुक वालमा लेखेका छन् :
“कहिलेसम्ममा चल्छन खोटाङका टावर ? ? ? योजना निर्माणदेखि कार्यान्वयनसम्म र टावर जडानदेखि 4G सन्चालनसम्म कति जनालाइ कतिपटक भनिरहनु पर्ने ? ? आजित भएर आज हामी एउटा टीम नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारी सहितका सम्बद्ध अधिकारीहरु सँग लामो छलफल गरेका छौं । र, खोटाङका २८ वटा टेलिफोन टावरमध्य १२ वटामा 2G अपग्रेड गरेर 4G जडान भएको, १६ वटा नयाँ टावर हालै जडान भएका छन, दसैअघि नै ७ वटामा जडान हुनेछन भने बाकी १४ ठाउँमा मंसिर १५ गतेभित्र सम्पूर्ण काम सकिने भन्ने प्रतिवद्धता आएको छ । त्यसपछि पनि खोटाङको कहि कतै टेलिफोन नलागेमा वा इन्टरनेट नचलेमा थप टावर निर्माण गरिनेछ ।”



