काठमाडौँ , नेकपा एकीकृत समाजवादीले संघीय र प्रदेश सरकारमार्फत सकेसम्म धेरै आफ्नो नीति तथा कार्यक्रम लागू गर्ने र त्यसको बलमा पार्टी संगठन सुदृढ गर्ने रणनीति लिने भएको छ । यसका लागि उसले संघीय सरकारमा सम्मानजनक सहभागिता, दुई प्रदेशमा सरकारको नेतृत्व र अन्य प्रदेशमा सहभागीताको नीति अंगीकार गरेको छ । अन्य राजनीतिक एवं संवैधानिक नियुक्तिमा पनि गठबन्धनका अन्य दलसरह उपस्थिति बनाउने र त्यसलाई पनि संगठन निर्माणको ‘हतियार’ बनाउने नेकपा (एस)को योजना छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालले पेश गरेको र हालै सम्पन्न केन्द्रीय कमिटी बैठकबाट पारित राजनीतिक प्रतिवेदनमा सत्ताको ‘उपयोग’ सम्बन्धी केही नीतिगत विषय समेटिएका छन् । हाल कायम रहेको वाम लोकतान्त्रिक समिकरणलाई कम्तिमा पनि प्रतिनिधिसभाको पूर्ण कार्यकाल र आगामी निर्वाचनसम्म कायम राख्नुपर्ने र स्थानीय तहसम्म पुर्याउनुपर्ने आवश्यकता औंल्याएको नेकपा (एस) ले सत्ता राजनीतिमार्फत संगठन विस्तारको नीति लिएको छ ।
तत्कालका लागि मात्र होइन, भविष्यमा पनि सत्ता राजनीतिलाई संगठन विस्तारको औजार बनाउने नेकपा (एस)को नीति छ । ‘राजकीय जिम्मेवारी प्रदान गर्ने सम्बन्धमा प्रत्येक तहका निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्ने स्पष्ट मापदण्ड तयार गरी सोही आधारमा उम्मेदवार बनाउने’ सो पार्टीको नीति छ ।
नेकपा (एस)ले मन्त्रीदेखि स्थानीय तहका जनप्रतिनिधिसम्म निगरानीको नीति लिइने उल्लेख गरेको छ । ‘पार्टी कमिटीले आन्तरिक रूपमा व्यवस्थित मापदण्ड बनाई प्रत्येक जननिर्वाचित पदाधिकारीको कार्य प्रगति र प्रभावकारिता मूल्यांकन गर्नेछ । त्यस मूल्यांकनलाई निश्चित तहसम्म सार्वजनिक गरिने छ’, राजनीतिक प्रस्तावमा छ । यसबाहेक अन्य नियुक्तिलाई पनि पार्टी निगरानीमा राख्ने उसको नीति छ ।
