झापा – बिर्तामोड नगरपालिकाले २०७७ सालमा इसाई समाजका नाममा ५ लाख छुट्यायो । इसाई समाज भने पैसा नपाएकोमा गुनासो गरिरहेको छ । २०७६ सालमा झापा इसाई समाजले बिर्तामोड नगरपालिकालाई भवन निर्माण गर्न पैसा माग गरेको थियो । नगरपालिकाले २०७७ सालमा प्रस्तावना पास गरेको जानकारी योजना खाताबाट दियो । समाजका लागि नगरपालिकाले ५ लाख छुट्यायो । तर, पैसा समाजले पाएन ।
नगरपालिकाको पैसा भने डा. कपिलमणि मिश्र नेतृत्व समूहले लग्यो । मिश्र स्वास्थ्यकर्मी मात्र नभई इसाई समाजका सक्रिय सदस्य पनि हुन् । हुनैलाई चाहिँ डा. मिश्रको पनि प्रस्तावना नगरपालिकामा परेको थियो । ‘इसाई सामुदायिक निर्माण समिति’को नाममा । समितिका मिश्र संयोजक हुन् ।
तर, पैसा भने नगरपालिकाले झापा इसाई समाजको नाममा भवन निर्माणका लागि निकासा गर्ने योजना पत्रिकामा लेख्यो । निकासा भएको पैसा डा. मिश्रले लगे । झापा इसाई समाजले पैसा पाएन ।डा. मिश्रका अनुसार नगरपालिकाले दिएको ५ लाखले भवनको ‘फाउण्डेसन’ तयार गरे । नगरपालिकाको मापदण्ड अनुसार नै तयार गरिसकेको उनी सुनाउँछन् । बिर्तामोड नगरपालिका वडा नम्बर ३ मा उनले भवनको जग तयार गरेका हुन् । ‘नगरले दिएको ५ लाखले पुगेन’ उनी भन्छन्, ‘संस्थाको ३ लाख थपेर काम सकेँ ।’
प्रस्तावनामा संस्थाको पुरै विवरण खुलाउनु पर्ने हुन्छ । नियमतः अपूर्ण विवरण भएकालाई कुनै पनि सरकारी संस्थाले सहयोग गर्नै मिल्दैन । प्रस्तावना बुझाउने दुवै समूहले आफ्नो विवरण बुझाएका थिए । तर, पैसा जसको भनियो उसले पाएन ।बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार सिवाकोटी पैसा अन्य क्षेत्रमा लगानी नगरेको भन्छन् । इसाई समाजलाई नै पैसा दिएको उनको तर्क छ । उता इसाई समाजका अध्यक्ष अमरदिप आले मगर पैसा आफूले नपाएको सुनाउँछन् ।
आखिर पैसा कहाँ गयो त ?
‘हामीले इसाई समाजलाई नै दिएको हो’ प्रमुख सिवाकोटी भन्छन्, ‘तर, झापामा इसाई समाज नै चार वटा रहेछन् ।’ ‘एउटा समाजलाई पैसा दिएको उनी अर्कै परेछन्’ यो प्रमुख सिवाकोटीको तर्क हो । जग्गाको कागजात पेस गरेर भवन बनाउन माग गरेको पैसा के आधारमा उनले पाए त ? सिवाकोटी भन्छन्, ‘एक जना डाक्टर आएका थिए, उनले हामी सबै एकै हो भनेर पैसा लगे ।’
‘उनले पैसा लगेको केही दिन पछि पुनः समाजका त्यत्ति पैसा खोज्न आए’ सिवाकोटी भन्छन्, ‘ म नै अन्योलमा परेँ ।’ नियतवश नभएको प्रमुख सिवाकोटीको दाबी छ । समाजका अध्यक्ष अमर आले यस्तो गल्ती नहुनु पर्ने भन्छन् । ‘नगरसँग हाम्रो सम्पूर्ण विवरण छ, आले भन्छन्, ‘तर के गर्नु पैसा अर्केले लगेछ ।’ समाधान खोज्न आले नगरपालिका नगएका पनि होइनन् । प्रमुख सिवाकोटीकै सल्लाह र सहयोगमा आले प्रदेशसम्म हार गुहार गर्न पुगे । आले अर्को प्रपोजल बनाएर प्रदेश पुगे । तर, कतैबाट आलेले सहयोग पाउन सकेनन् ।
आलेको गुनासो एक ठाउँमा छ, राहतको आशामा उनी खुलेरै बोल्ने पक्षमा भने छैनन् । ‘एक पटक गल्ती भइहालेछ, फेरी मेयर सापले सहयोग गर्छु भन्नु भएकै छ, सहयोग होला पनि’ उनी भन्छन्, ‘आगामी बजेटमा मेयर सापले हामीलाई सहयोग गर्ने आश्वासन दिनु भएको छ ।’त्यसो त प्रमुख सिवाकोटी सिधै नभए पनि घुमाउरो पारामा गल्ती स्विकार्छन् । प्रश्न गर्छन्, ‘झापामा इसाई समाज कति वटा छ? हामी त्यही भएर झुक्किएका हौँ ।’
‘लान चाहिँ इसाई समाजले नै लगेको हो, अन्य क्षेत्रमा होइन’ उनी थप्छन्, ‘तर, छुटेको समाजलाई सम्बोधन गर्न मैले यसपालिको बजेटमा उनीहरूलाई पैसा छुट्याएको छु ।’ कुनै वर्ग वा क्षेत्रलाई भेदभाव गर्ने नियत नभएको पनि प्रमुख सिवाकोटीले सुनाए । ‘सबैलाई समेटेर लिएर जाने हो, इसाई पनि छुट्दैन अबको बजेटमा सम्बोधन हुन्छ’ प्रमुख सिवाकोटीको भनाई छ । Gorkha post बाट सभार
