काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई पूर्णता दिनेगरि तयारी गरेपछि सत्ता गठबन्धनमा आवद्ध दलले पनि आफ्नो पार्टीको भागमा परेका मन्त्रालयमा कसलाई मन्त्री बनाएर पठाने भनेर गृहकार्य थालेका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टीले ६ वटा मन्त्रालय पाउने भएको छ ।
प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच पछिल्लो समय भएको छलफलमा कुन मन्त्रालय कुन पार्टीको भागमा भनेर पनि सहमति भैसकेको छ । सोहीअनुसार माधव नेपालले सरकारमा पठाउनको लागि पार्टीभित्र मन्त्री छान्ने गृहकार्य थालेका छन् ।
नेकपा (एकीकृत समाजवादी) निकट उच्च स्रोतकाअनुसार माधव नेपालले अहिलेसम्म दुई जनाको नाम भने मन्त्रीमा फाईनल गरिसकेका छन् । एक जना मेटमणि चौधरी र अर्को प्रमे आले । चौधरीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा पठाउने र आलेलाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा पठाउने निर्णय गरेका छन् ।
अध्यक्ष नेपालले चौधरीलाई राम्रो मन्त्रालयमा पठाउन लागेका छन् । यसमा चौधरी पनि खुशी नै छन् । पर्यटन मन्त्रालयमा राम्रो मान्छे पठाउनुपर्ने सत्तापक्षीय गठबन्धनका नेताहरुको पनि आवाज भएकोले अध्यक्ष नेपालले उनलाई पर्यटनमन्त्री बनाउन लागेका हुन् । उच्च स्रोतकाअनुसार भोलि शुक्रबारसम्म सबै पार्टीबाट मन्त्रीहरुको नाम तय गरिसक्ने र सम्भवतः आईतबार वा सोमबारसम्म सरकारलाई पूर्णता दिने प्रधानमन्त्री देउवाको तयारी छ ।
