सन् १९६९ को जुलाई महिनामा पहिलो पटक चन्द्रमामा मानवले पाइला टेकेको दृष्यको प्रसारण संसारभरि दशौँ लाख मानिसले हेरेका थिए।
तर अहिले पनि मान्छेले चन्द्रमामा कहिल्यै पाइला नहालेको जिद्दी गर्ने मानिसहरू पनि छन्।
अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार विभिन्न सर्वेक्षणमा झन्डै पाँच प्रतिशत अमेरिकीहरूले चन्द्रमामा पाइला टेकेको भन्ने कुरा नक्कली थियो भन्ने विश्वास गर्ने गरेको पाइएको छ।
यो सङ्ख्या सानो जस्तो लाग्छ तर षड्यन्त्रको सिद्धान्त (कन्स्पिरसी थीअरी) जीवितै राख्न यो सङ्ख्या पर्याप्त छ।
‘द मून होक्स’अभियान
चन्द्रमामा नक्कली अवतरण भन्ने सिद्धान्त मान्नेहरूको मुख्य तर्क के हो भने सन् १९६० मा अमेरिकी अन्तरिक्ष कार्यक्रमसँग चन्द्रमामा पुग्न सफल हुनका लागि आवश्यक प्रविधि थिएन।
उनीहरूको तर्क छ – यो असम्भव कुरा भन्ने बुझेपछि नासाले रुससँग अन्तरिक्षमा जाने होडको प्रतिस्पर्धामा निर्णायक धक्का पुर्याउन कतै नक्कली अवतरण गरेको थियो। त्यसबेला सोभियत सङ्घ चन्द्रमामा जाने कुरामा अमेरिकाभन्दा अगाडि थियो र उनीहरूको यान चन्द्रमाको सतहमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो।
नील आर्मस्ट्रङको “मानवका लागि एक पाइला तर मानवताका लागि ठूलो फड्को” भन्ने उक्तिको आधिकारिताबारे प्रश्न गर्ने किसिमका कथाहरू अपोलो ११ घर फर्किएदेखि फैलिन थाले।
‘वी नेभर वेन्ट टु द मून: अमेरिकाज् थर्टी बिलियन डलर स्विन्डल’ नामक पुस्तक सन् १९७६ मा प्रकाशित भएपछि अमेरिका चन्द्रयात्राको कथा मिथ्या भएको विश्वास गर्नेको सङ्ख्या बढ्यो।
त्यो बिल केसिङ नामक पत्रकारले लेखेका थिए। उनी नासासम्बद्ध एक निकायमा जनसम्पर्क अधिकृतका रूपमा कार्यरत थिए।
उक्त पुस्तकमा थुप्रै तर्कहरू प्रकाशित थिए जुन पछि कोही पनि चन्द्रमामा पुगेको छैन भन्ने तर्क गर्नेहरूले प्रयोग गर्न थाले।
‘हावा नभएको ठाउँमा’ झण्डा कसरी फरफरायो
त्यो सूचीमा पत्रकारहरूले उपलब्ध गराएको “प्रमाण” संलग्न छ – चन्द्रमाको सतहको पृष्ठभूमिमा ताराहरू देखिन्नन् र हावा नभएको वातावरणमा अमेरिकी झण्डा फहराएको छ।
यूनिभर्सिटी अफ क्यालिफोर्नियाका अन्तरिक्ष अनुसन्धानकर्ता माइकल रिच यो दाबी काट्ने वैज्ञानिक आधार भएको बताउँछन्।
आर्मस्ट्रङ र बज एल्ड्रिनले झण्डा गाड्न चन्द्रमाको सतहमा लगाएको बलका कारण झण्डा खुम्चिएको हो।
अनि चन्द्रमाको गुरुत्वाकर्षण पृथ्वीको भन्दा छगुणा कम भएकाले त्यही आकारमा बसेको हो भन्ने ती वैज्ञानिकको भनाइ छ।
‘ताराविहीन आकाश’
चन्द्रमामा मान्छे पुगेकै छैनन् भन्नेहरूले चन्द्रमाको तस्बिरमा आकाशमा तारा नदेखिएको तर्क अगाडि सार्छन्।
तस्बिरमा अँध्यारो र उज्यालोबीच उच्चतम फरक देखिन्छ।
किन त? रोचेस्टर इन्स्टिट्यूट अफ टेक्नोलजीका एस्ट्रोफिजिक्सका प्राध्यापक ब्रायन कोबर्लिन चन्द्रमाको सतहले सूर्यको किरण परावर्तन गर्ने र त्यसैले तस्बिरमा असाध्यै चम्किलो देखिने तर्क गर्छन्।
उनी भन्छन्, “यही चम्किलोपनले तुलनात्मक रूपमा ताराहरूको कम चम्किलो प्रकाशलाई झन् कालो बनाइदियो। त्यसैले हामीले अपोलो ११ लक्ष्यका तस्बिरमा हामी तारा देख्दैनौँ।”
फोटो खिच्न पनि अलि बढी समय लागेको हुनुपर्छ।
‘नक्कली पाइलाहरू’
अन्तरिक्षयात्रीका पदचिह्नहरू पनि षड्यन्त्रको सिद्धान्त मान्नेहरूको तारोमा परेका छन्।
उनीहरूको तर्क छ – चन्द्रमामा आर्द्रताको अभावमा एल्ड्रिनका आश्चर्यजनक पाइलाका छाप बन्न असम्भव छ।
तर एरिजोना स्टेट यूनिभर्सिटिका प्राध्यापक मार्क रबिन्सनले त्यसको वैज्ञानिक विश्लेषण गरेका छन्।
उनको भनाइ छ- चन्द्रमाको माटोमा चट्टानको तह र रेगोलिथ भनिने धुलोको तहले छोपिएको छ।
यो तह असाध्यै कोमल छ र त्यसमा पाइला टेक्दा पर्ने दबावले प्रष्ट छाप बस्छ।
माटोका कणहरू एकअर्कासँग टाँसिने प्रकृतिका हुने भएकाले जुत्ता हटाउँदा पनि पाइलाको छाप बाँकी रहन्छ।
रबिन्सन भन्छन्, “चन्द्रमाको सतहमा रहेका पाइलाका छाप दशौँ लाख वर्षसम्म पनि त्यहीँ रहिरहनेछन् किनभने त्यहाँ वायुमण्डल पनि छैन र वायु पनि छैन।”
