हामी कुरा गर्न लाग्दा ४१ वर्षीया रोभेली असहज ढङ्गले ढाडलाई अडेस दिइन् ताकि उनले आफ्नो नवौँ सन्तानलाई काखमा राख्न सकून्।
“कार्ल, जेवेल, जोयसी…” बच्चाहरूको नाम लिइरहँदा छ वर्षीय छोरा चार्ली विमति जनाउने नजरले उनीतिर हेरे।
“माफ गर्नुहोला। उसको नाम चाहिँ चार्ली हो,” निर्दोषताका साथ रोभेलीले भनिन्।
परिवार नियोजनका उपायबारे थाहा हुनुअघि रोभेलीका सातवटा सन्तान भइसकेका थिए।
तर उनको पेटमा हुर्किरहेको नवौँ बच्चा विश्वकै कडामध्येको लकडाउनका बेला नचाहँदा-नचाहँदै रहन गएको गर्भ हो।
लकडाउनका बेला सैनिकहरू बख्तरबन्द गाडीका साथ सडकमा गस्ती गरिरहेका हुन्थे भने सुरक्षा जाँच स्थल खडा गरेर प्रहरीले हिँडडुलमा रोक लगाइरहेका हुन्थे।
खानेकुरा लगायतका अत्यावश्यक सामान खरिद गर्नका लागि परिवारको एकजना सदस्यलाई मात्रै बाहिर निस्कन अनुमति हुन्थ्यो।
लकडाउनको अर्थ दशौँ हजार महिलाले परिवार नियोजनका साधनसम्म पहुँच नपाउनु पनि थियो जसका कारण रोभलीले जस्तै उनीहरूले विना कुनै योजना गर्भधारण गर्नुपर्यो।
युनिभर्सिटी अफ द फिलिपिन्स पोपुलेशन इन्स्टिट्युट र संयुक्त राष्ट्रसङ्घका अनुसार आगामी वर्ष त्यहाँ थप दुई लाख १४ हजार बच्चा जन्मिने अनुमान छ।
ती बच्चाहरू अस्पतालमा जन्मिनेछन् जहाँ बर्सेनि १७ लाख बच्चा जन्मने गरेका छन् र अस्पतालहरूलाई थेग्न गाह्रो भइरहेको हुन्छ।
र, यो शुरूवात मात्रै हो। किनकि फिलिपिन्सको जनसङ्ख्यासम्बन्धी सङ्कटको कारण यो महामारी मात्रै होइन नजिकबाट नियाल्दा वर्षौँदेखि समस्याले जरा गाड्दै गएको देखिन्छ।