१० वर्ष अगाडिको कुरा हो । ३० असोज २०६८ का दिन सिन्धुपाल्चोक प्रहरीले एउटा सूचना पायो । त्यो सूचना ‘कसैले एउटा जीपमा अमेरिकी डलर लुकाएर काठमाडौंबाट तातोपानी हुँदै चीन लैजान खोजिरहेको छ’ भन्ने थियो । चनाखो बनेर बसेको प्रहरीले एउटा जीप रोकेर खानतलासी गर्दा नभन्दै २ लाख ३६ हजार अमेरिकी डलर फेला पार्यो । प्रहरीको दाबी अनुसार, ‘जीप रोकेर खानतलासी गर्नासाथ चालक गोम्दे तामाङ फरार भए ।’ प्रहरीले त्यो डलर र गाडी सहित यो मुद्दाको फाइल अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठायो ।
राजस्वले घटनामा अरू कोही संलग्न भएको नदेखिएको भनेर गोम्देलाई प्रतिवादी बनाएर मुद्दा चलायो । फरार भएका गोम्दे अदालत आउने कुरै भएन । मुद्दाको सुनुवाइपछि जिल्ला अदालत सिन्धुपाल्चोकले २२ वैशाख २०७३ मा उनलाई कसुरदार ठहर्यायो । जीप चालक गोम्देलाई १ करोड ८६ लाख रुपैयाँ जरिवाना र एक महीना कैद सजाय हुने फैसला सुनायो । यो मुद्दा सर्वोच्च अदालतसम्म पुग्यो । करीब १० महीना जेल बसेका सन्तबहादुरलाई १५ असोज २०७७ मा सर्वोच्च अदालतले ‘गैरकानूनी थुनामुक्त गर्नु’ भन्यो ।
प्रहरीले अमेरिकी डलर अपचलनको आरोपमा मानसिक सन्तुलन कमजोर रहेका सन्तबहादुरलाई किन पक्राउ गर्यो ? त्यो सुनकाण्डमा गोम्दे भनिने जीप चालकलाई मात्रै मुछेर मुद्दा चलाउनुको कारण के थियो ? सन्तबहादुर किन अनाहकमा ९ महीना २० दिन कारागारमा बस्नुपर्यो ? षडयन्त्र र रहस्यको भित्री पाटो थाहा पाउन २०६८ साल असोज मसान्तको घटनामा पुग्नुपर्छ ।
०००
३० असोज २०६८ मा जीपमा डलर बरामद भएपछि भागेका चालक गोम्दे तामाङका बारेमा प्रहरीले खोजबीन शुरू गर्यो । आइतमान तामाङको नाति, चिम्से तामाङको छोरा उनी तातोपानी गाविस-४ का बासिन्दा रहेको खुल्यो । उनले जीपको पछाडिपट्टकिो पाङ्ग्राको माथि टिनमा प्वाल पारी भित्र डलर लुकाएको भेटियो ।
प्रहरीले फाइल जिम्मा लगाएपछि राजस्व अनुसन्धान विभागले जीपको साहु खोज्न थाल्यो । भन्सारबाट लिलाम बिक्री भएको उक्त जीप परिवर्तन राई भन्ने व्यक्तिले किनेको थाहा भयो । लिलामी गाडीहरू वाग्मती अञ्चल यातायात कार्यालयमा दर्ता नहुने भएकाले गण्डकीमा लगेर दर्ता गरेका रहेछन् । बयानमा परिवर्तन राईले भनेका छन्, ‘त्यही दिन मैले तातोपानी-४ सिन्धुपाल्चोक बस्ने अशोक श्रेष्ठको छोरा सुनिल श्रेष्ठलाई बेचेर नामसारी गरिदिएको हो ।’
गाडीधनी सुनिल श्रेष्ठ राजस्व अनुसन्धान विभागको सम्पर्कमा पुगे । उनको दावी अनुसार, जीपमा डलर बरामद हुनुभन्दा १९ दिनअघि असोज ११ गते उनले त्यो गाडी विश्वनाथ शिवाकोटीलाई सम्झौता गरेर भाडामा दिएका रहेछन् । सम्झौतापत्र अनुसार, मासिक ४० हजार रुपैयाँ सुनिलले भाडा पाउथे । ‘गाडीले अवैध डलर बोकेको बारे मलाई थाहा छैन’ उनले बयानमा भनेका छन्, ‘बोकेको भए विश्वनाथ शिवाकोटी जिम्मेवार हुनुपर्ने हो ।’
राजस्वले विश्वनाथलाई बोलायो । अब विश्वनाथ होइन, उनका छोरा शान्तज्ञानी शिवाकोटी राजस्व अनुसन्धान विभाग पुगे । शान्तज्ञानीले १२ चैत २०६८ मा एउटा निवेदन दिंदै १३ मंसीर २०६८ मा आफ्ना बाबुको निधन भएको प्रमाण पेश गरे । उनले बयानमा भनेका छन्, ‘(बाबु) विश्वनाथ शिवाकोटीले कुनै पनि गाडी भाडामा लिएर चलाएको भन्ने झुट्टा कुरा हो ।’
त्यसपछि गाडीधनी सुनिल श्रेष्ठले पनि कुरा बङ्ग्याउन थाले । उनले पुरानै दाबी दोहोर्याए । उनको भनाइमा विश्वनाथ शिवाकोटीले आफ्नो ठेगाना दोलखा, सुस्पा क्षेमावती गाविस-२ भनी सम्झौतापत्रमा लेखेको दाबी गरे । ‘निजको छोराले कुन व्यहोराले निवेदन दिए, निजको मृत्यु कहिले भयो थाहा छैन’ उनले बयानमा भनेका छन्, ‘सम्झौता गर्ने विश्वनाथ र निवेदन पेश गर्ने शान्तज्ञानी शिवाकोटीका पिता विश्वनाथ शिवाकोटी एकै व्यक्ति हुन् वा फरक व्यक्ति हुन् थाहा छैन ।’ उनले सम्झौता भएपछि भाडामा लिने व्यक्तिसँग आफ्नो भेट नभएको दाबी गरे । पछि सरकारी वकिलको कार्यालयले निर्णय गरेर सवारी धनी श्रेष्ठलाई गाडी फिर्ता दियो ।
अब अनुसन्धान अधिकारीहरूलाई झनै सजिलो भयो । सरकारी वकिलको कार्यालयले फरार भएको भनिएको जीप चालक गोम्दे तामाङलाई सारा कसुरको भार बोकाइदियो । अनि अरू सबै जनालाई सजिलो बनाइदियो । जीपमा भेटिएको रकम जफत हुनुपर्ने, गोम्देलाई कैद र जरिवाना हुनुपर्ने दाबी गर्दै सरकारी वकिलको कार्यालयले सजिलो गरी अभियोगपत्र दर्ता गर्यो । अनि घटनाको सुराकी गरेको भन्दै नरेन्द्र गिरी, महाविर लामा र राजकुमार मल्ललाई पुरस्कार (कमिसन) दिनुपर्ने दाबी पेश गर्यो ।
प्रहरीको दाबी अनुसार १९ वैशाख २०७१ मा गोम्दे आफैं अदालतमा पुगेर म्याद बुझे । मुद्दाको सुनुवाइपछि न्यायाधीश चिन्तामणि बरालको इजलासले गोम्देले नै जीप चलाएको र त्यसमा डलर ओसारपसार गरेको भनेर उसलाई कसुरदार ठहर गर्यो ।
फैसला अनुसार बरामद भएको डलर जफत हुने भयो भने त्यति नै रकम जरिवाना पनि हुने भयो । अनि जिल्ला अदालतले गोम्देलाई एक महीना कैद सजाय तोक्यो । २२ वैशाख २०७३ को फैसला अनुसार सूचना दिने सुराकीहरूले २० प्रतिशतले ३७ लाख २२ हजार रुपैयाँ कमिसन पनि पाउने भए ।
