सोमवार देशलाई आफ्नो नियन्त्रणमा लिनुअघि बिहान सबेरै म्यान्मारको सेनाले नेत्री आङ सान सू चीसहित अन्य नेतालाई गिरफ्तार गर्यो।
विवादित चुनावलाई लिएर सू चीको सरकार र सेनाबीच तनाव बढिरहेका बेला म्यान्मारमा सैन्य कू भएको हो।
गत वर्ष नोभेम्बरमा भएको निर्वाचनमा सू चीको न्याश्नल लीग फर डेमोक्रेसी (एनएलडी) ले सरकार गठनका लागि पर्याप्त सीट जितेको थियो।
सोमवार नवनिर्वाचित संसद्को पहिलो सत्र बस्नुअघि सेनाले “निर्वाचनमा धाँधली” भएको भन्दै सत्ता सेनाप्रमुखलाई सुम्पन लागेको बताएको थियो।
सेनाको टीभीले सत्ता सेनाको हातमा गएको र एक वर्षका लागि देशमा सङ्कटकाल लगाइएको घोषणा गरेको थियो।
आङ सान सू चीले आफ्ना समर्थकहरूलाई “यसलाई अस्वीकार गर्न” र “कूविरुद्ध प्रदर्शन” गर्न भनेकी छन्।
म्यान्मारकी नेत्री आङ सान सू ची सेनाद्वारा गिरफ्तार
सू चीको बहुमत आएको चुनाव परिणाम सेना समर्थित दलले नमान्ने घोषणा
बर्मा पनि भनिने म्यान्मारमा सन् २०११ मा प्रजातान्त्रिक सुधार हुनुअघि सेनाले शासन चलाएको थियो।
सन् २०१५ मा दशकौँपछि खुला प्रतिस्पर्धाको पहिलो चुनाव भएपछि त्यसमा आङ सान सू चीले उल्लेख्य मतसहित चुनाव जितिन् र सत्तामा पुगिन्। सेनाका जेनरलहरूको कठोरतालाई चुनौती दिन उनले आफ्नो स्वतन्त्रता त्यागेको भन्दै उनलाई प्रजातन्त्रकी प्रतीकको रूपमा हेरिन्थ्यो।
बौद्ध धर्मावलम्बीको बाहुल्य भएको देशमा उनी व्यापक रूपमा लोकप्रिय छिन्।
तर रोहिन्ज्या सङ्कटका बेला उनको प्रतिक्रियालाई लिएर अन्तर्राष्ट्रिय रूपमा उनको छवि गुम्यो।
सत्ताको बाटो
आङ सान सू चीले सन् १९८९ देखि सन् २०१० सम्म झन्डै १५ वर्ष नजरबन्दमा बिताइन्।
सन् १९९१ मा उनलाई घरमै नजरबन्दमा रहेका बेला नोबेल शान्ति पुरस्कारले सम्मानित गरियो। उनलाई “शक्तिहीनहरूको शक्तिको अद्भुत उदाहरण” मानिन्थ्यो।
सन् २०१२ मा अमेरिकी राष्ट्रपति बराक ओबामा र म्यानमारकी नेत्री आङ सान सू चीको भेट
तस्बिर स्रोत,AFP
तस्बिरको क्याप्शन,
प्रजातान्त्रिक सुधारहरू भएपछि ओबामा प्रशासनले म्यान्मारमाथिका प्रतिबन्धहरू हटाएको थियो
त्यतिबेलाको सैन्य शासनका बेला थिचोमिचोको सामना गर्दै प्रजातन्त्र ल्याउनका लागि उनले गरेको व्यक्तिगत सङ्घर्षले उनलाई अन्तर्राष्ट्रिय रूपमा शान्तिपूर्ण प्रतिरोधको प्रतीक बनायो।
सन् २०१५ मा भएको चुनावमा उनले नेतृत्व गरेको एनएलडी पार्टीले बहुमत ल्याएको थियो। उक्त चुनाव २५ वर्षमा भएको पहिलो खुल्ला प्रतिस्पर्धात्मक चुनाव थियो।
म्यान्मारकी नेत्री सू ची र उनलाई थुन्ने सेनाप्रमुखबारे नेपाली नेताको अनुभव
म्यान्मारमा सेनाद्वारा एक वर्षको लागि सङ्कटकाल घोषणा
उनका सन्तान विदेशी नागरिक भएकाले म्यान्मारको संविधानअनुसार उनी राष्ट्रपति बन्न पाउँदिनन्। तर ७५ वर्षीया सू ची पदमा नरहे पनि सत्ता उनैबाट निर्देशित भएको मानिन्थ्यो।
आधिकारिक रूपमा भने उनी स्टेट काउन्सलर हुन्। राष्ट्रपति विन मियन उनका निकट सहयोगी हुन्।
‘म तटस्थ हुन सक्दिनथेँ’
आङ सान सू ची म्यान्मारका स्वतन्त्रता सेनानी आङ सानकी छोरी हुन्।
सन् १९४८ मा म्यान्मारले ब्रिटिशको औपनिवेशिक शासनबाट मुक्ति पाउनु केही समयअघि आङ सानको हत्या भएको थियो। त्यतिबेला सू ची जम्मा दुई वर्षकी थिइन्।
