देशको पूर्वोत्तर भाग अचानकको बाढी र आँधीबेहरीको चपेटामा परी ४० जनाभन्दा धेरैको ज्यान गएका बेला अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तन सङ्कटसँग जुझ्नका निम्ति “ऐतिहासिक लगानी” आवश्यक पर्ने बताएका छन्।
उनले अहिले अमेरिकाले देशैभरि जलवायुसम्बन्धी सङ्कट भोगिरहेको र त्यसको सामना गर्नु भनेको “जीवन वा मरणको सवाल भएको” बताएका छन्।
न्यूयोर्क र न्यूजर्सी राज्यमा अस्वाभाविक वर्षा देखिएको छ।
केही बासिन्दाहरू बाढीको चपेटामा परेका कारहरू र भवनहरूका सबैभन्दा मुनिको तलामा फसेका छन्।
समुद्री आँधी आइडाका कारण त्यहाँ अहिलेसम्मकै उच्च वर्षा भएपछि त्यस्तो विपद् देखा परेको हो।
चार राज्यमा भएको मानवीय क्षति:
- न्यूजर्सीका गभर्नर फिल मर्फीले आफ्नो राज्यमा कम्तीमा २३ जनाको निधन भएको बताएका छन्। त्यसमध्ये अधिकांश पानीको तह बढेपछि आफ्नै सवारीसाधनमा फसेका थिए।
- न्यूयोर्क सहरमा कम्तीमा १४ जनाको ज्यान गएको छ। त्यसमा एकजना दुई वर्षका बालक पनि छन्। मारिनेमा ११ जना भवनहरूका सबैभन्दा तल्लो तलामा डुबेका थिए।
- पेन्सलभेनियाको फिलडेल्फिया नजिकै तीनजना र कनेटिकटमा एकजनाको निधन भएको छ।
