अफगानिस्तानमा तालिबान नयाँ शासकका रूपमा स्थापित हुँदै गर्दा बाँकी देशहरू काबुलमा भएको सत्ता परिवर्तनसँग अनुकूल हुने रणनीति बनाउन लागेका छन्।
मस्कोदेखि बेइजिङसम्म र बर्लिनदेखि इस्लामबादसम्म विश्वका धेरै राजधानीमा कूटनीतिक भेटघाटहरू भइरहेका छन्।
गत अगस्ट ३१ मा काबुल विमानस्थलबाहिर भएका दुईवटा बम आक्रमणले चाहिँ अफगानिस्तानभित्रैका विद्रोही समूहहरूले तालिबानको शासनलाई कसरी लिइरहेका छन् भन्ने देखाएको छ।
तर के तालिबान अफगानिस्तानको शक्तिमा पुग्दा विश्वका प्रभावशाली देशहरूले त्यहाँबाट के लाभ लिन सक्छन् त?
यहाँ केही राष्ट्रहरूलाई पर्ने प्रभावबारे चर्चा गरिएको छ।
तस्बिर स्रोत,EPA
पाकिस्तान
छिमेकी काबुलमा तालिबानको शासनबाट सबैभन्दा धेरै पाउने वा गुमाउने भनेकै पाकिस्तानले हो।
अफगानिस्तानसँग २,४०० किलोमिटर सीमा जोडिएको पाकिस्तानले १४ लाखभन्दा बढी अफगान शरणार्थीलाई आश्रय मात्रै दिइरहेको छैन तालिबानको उदय समेत उत्तरी पाकिस्तानमै भएको थियो। यसर्थ पनि अफगानिस्तानमा अस्थिरता हुँदा पाकिस्तानले धेरै गुमाउन सक्छ।
तर इस्लामाबाद नै सम्भवतः तालिबानसँग सबैभन्दा नजिकको सम्बन्ध भएको राजधानी पनि हो।
पाश्तो भाषामा “विद्यार्थीहरू” भन्ने बुझिने तालिबान समूहका संस्थापकमध्ये कैयौँले पाकिस्तानकै मदरसामा पढेका थिए।
तालिबानलाई आफूले सहयोग गरेको सधैँ अस्वीकार गर्दै आए पनि पाकिस्तान ती तीन देशमध्ये हो जसले सन् १९९० मा तालिबानले अफगानिस्तानको सरकार गठन गर्दा पहिलो पटक मान्यता दिएका थिए।
साउदी अरब र यूएईसँगै तालिबान सरकारलाई मान्यता दिएको पाकिस्तान तालिबानसँग कूटनीतिक सम्बन्ध भङ्ग गर्ने अन्तिम देश पनि बन्यो।
लन्डनस्थित रोयल यूनाइटेड सर्भिसेज इन्स्टिट्यूटमा भिजिटिङ फेलो उमर करिम पछिल्लो समय तालिबानसँगको सम्बन्ध बिग्रिएको भए पनि पाकिस्तानले खेल्ने ठाउँ भेटेको बताउँछन्।
“पाकिस्तानी निर्णयकर्ताहरूले खेल्ने ठाउँ भेटेको महसुस गरेका छन्,” उनी भन्छन्।

भारतसँग प्रतिस्पर्धाको दृष्टिले बाँकी विश्वलाई हेर्ने पाकिस्तानीहरूलाई चाहिँ अफगानिस्तानमा तालिबानको सत्ता आउनु भनेको त्यहाँ भारतीय प्रभाव कम हुनु हो।
“पाकिस्तान उसको सीमा नजिकका जलालाबाद र कान्दहारजस्ता सहरमा भारतीय वाणिज्य दूतावासको उपस्थितिले थप हैरान बनेको थियो,” करिम भन्छन्।
“यसलाई उसले उत्तरमा सक्रिय तहरीक-ए-तालिबानको पाकिस्तान समूह र दक्षिणको बलुच विद्रोही समूह लगायतका पाकिस्तानविरोधी तत्त्वहरूको मुख्य प्रायोजक ठान्ने गरेको थियो।”
करिमका अनुसार तालिबान शक्तिमा आएसँगै पाकिस्तान पनि अफगानिस्तानमा आफ्नो प्रभाव बढाउन सकिने आशामा छ। भूपरिवेष्टित अफगानिस्तानमा अधिकांश खाद्यान्न, तरकारीदेखि सिमेन्ट र निर्माण सामग्री पनि पाकिस्तान हुँदै भित्रिने करिम बताउँछन्।
आफ्नो अर्थतन्त्रलाई अझ सुदृढ बनाउन पाकिस्तान अफगानिस्तानलाई आर्थिक साँघु बनाएर अरू मध्यएशियाली देशसम्म पहुँच विस्तार गर्न चाहन्छ।
