नेपालसँग जोडिएको भारतीय राज्य उत्तर प्रदेशका केही जिल्लामा एक साताभन्दा बढी समयदेखि बालबालिकाहरू उच्च ज्वरो आउने र पसिनामा भिजेर बिउँझिने समस्याबाट पीडित छन्।तीमध्ये धेरै जनामा जोर्नी दुख्ने, टाउको दुख्ने, शरीरमा पानी कम हुने र रिँगटा लाग्ने लक्षण देखिएको छ। केहीको भने हातखुट्टामा डाबर आएको पाइन्छ।
उत्तर प्रदेशभित्र पूर्वतिरका छ जिल्लामा अधिकांश बालबालिकासहित कम्तीमा ५० जनाको ज्वरोले मृत्यु भएको छ भने केही सय बिरामी अस्पताल भर्ना भएका छन्। मृत्यु भएका कसैलाई पनि कोभिड भएको थिएन।कोरोनाभाइरसको घातक दोस्रो लहरबाट भारत बिस्तारै मुक्त हुँदै गरेको समयमा उत्तर प्रदेशमा भएको मृत्युलाई सञ्चारमाध्यमहरूले “अज्ञात ज्वरो”ले भारतको सबैभन्दा सघन बस्ती भएको राज्यका गाउँहरूलाई आक्रान्त पारेको रूपमा प्रस्तुत गरेका छन्।
आगरा, मथुरा, मैनपुरी, एटा, कासगन्ज र फिरोजाबादका चिकित्सकहरू मृत्युको मूल कारण लामखुट्टेबाट सर्ने भाइरसको सङ्क्रमण डेङ्गी भएको विश्वास गर्छन्। उनीहरूका अनुसार धेरै बिरामीहरू रगत जमाउन सहयोग गर्ने एक प्रकारको रक्त कोष प्लेट्लेटको सङ्ख्या कम हुने अवस्थामा भर्ना गरिएको छ। यो लक्षण डेङ्गी भएका गम्भीर बिरामीहरूमा देखिन्छ।
“बर्खामा फोहोरका डङ्गुर, जनस्वास्थ्यका निम्ति कसरी भयङ्कर जोखिम
‘चामत्कारिक’ लामखुट्टेले डेङ्गी ७७ प्रतिशतले घटाउँछ “
“अस्पताल आएका बिरामीहरू विशेषगरी बालबालिकाहरूको निकै छिटो मृत्यु भइरहेको छ,” फिरोजाबाद जिल्लाका वरिष्ठतम चिकित्सक डा. नीता कुलश्रेष्ठ भन्छिन्। फिरोजाबादमा गत साता ३२ बालबालिकासहित ४० जनाको यही समस्याका कारण निधन भएको थियो। पोथी लामखुट्टेले सार्ने उष्णप्रदेशीय रोग डेङ्गी भारतमा सयौँ वर्षदेखि छ।
विश्वभरि १०० देशमा देखिने यो रोगका ७० प्रतिशत बिरामी एशियामा हुन्छन्। डेङ्गीका चार भाइरस छन् र दोस्रो पटक सङ्क्रमण हुँदा बालबालिकाको मृत्यु हुने सम्भावना वयस्कमा भन्दा पाँचगुना बढी हुन्छ।
