जयसिंह धामी तुइनबाट महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाको छानबिन गर्न गठित समितिले मङ्गलवार गृहमन्त्रीलाई बुझाएको प्रतिवेदन कार्यान्वयनबारे “आफूहरू छलफलकै चरणमा रहेको” गृह मन्त्रालयका अधिकारीहरूले बताएका छन्।समितिले “उक्त घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको” प्रतिवेदनमा उल्लेख गरेको मन्त्रालयले वक्तव्यमार्फत् जानकारी दिएको छ।
उक्त घटनाबारे “भारतसँग कुरा उठाउन नसकेको” भन्दै विपक्षी दलका नेतासहित कैयौँले सरकारमाथि प्रश्न उठाइरहेका बेला समितिले प्रतिवेदन बुझाएको हो।मन्त्रालयको वक्तव्यपछि सत्ताधारी दलकै कतिपय नेताले समेत उक्त घटनालाई उद्धृत गर्दै ‘पीडितले न्याय पाउने नदेखिएको’ सामाजिक सञ्जालमा लेखेका छन्। यद्यपि पूर्वपरराष्ट्रमन्त्री समेत रहेका सत्ताधारी दलका नेताले सरकारले “प्रतिवेदनले औँल्याएका तथ्य/सत्यका आधारमा कूटनीतिक पहल गर्ने” बीबीसीलाई बताएका छन्।
प्रतिवेदनमा के छ?
छानबिन समितिले मङ्गलवार गृहमन्त्री बालकृष्ण खाँडलाई बुझाएको प्रतिवेदन सार्वजनिक नभएकाले त्यसमा कस्ता विवरण छन् भन्ने बाहिर आएको छैन।
तर मङ्गलवारै मन्त्रालयले वक्तव्य जारी गर्दै उक्त प्रतिवेदनले गरेको सिफारिसबारे संक्षिप्त जानकारी दिएको छ।
मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा जारी वक्तव्यमा भनिएको छ, “समितिले उक्त घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकोले निजहरूको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषी उपर कानुनी कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न सिफारिस गरेको छ।”
गत साउन १५ गते धामी तुइनबाट महाकाली नदीमा खसेर बेपत्ता भएका थिए।
त्यसको दुई दिनपछि साउन १७ गते मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा १० दिनमा प्रतिवेदन तयार पार्ने गरी पाँच सदस्यीय छानबिन समिति गठन भएको थियो।
