संयुक्त राज्य अमेरिकाको सेनाले अफगानिस्तानबाट झन्डै २० वर्षपछि पूर्ण रूपमा आफ्नो सेना फिर्ता गरेको छ।
काबुलस्थित अमेरिकी राजदूत रस विल्सन र त्यहाँ रहेका अमेरिकी कमान्डर जेनरल क्रिश डोनाह्यु अन्तिम उद्धार उडानमा सहभागी भएको बताइएको छ।
सेना फिर्ती अभियानको सुपरिवेक्षण गरेका जेनरल फ्र्याङ्क मकेन्जीले अमेरिकाले पछिल्ला केही सातामा झन्डै ८० हजार व्यक्तिको उद्धार गरेको बताए।
अमेरिकी सेनाका सेन्ट्रल कमान्डका प्रमुख जेनरल मकेन्जीले भने, “हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तिम सी सेभन्टीन विमान उडेको छ।
योसँगै सैन्य उद्धारको पाटोका साथै २० वर्षदेखिको अफगानिस्तान मिसन समाप्त भएको छ। जुन मिसन सन् २००१ को सेप्टेम्बर ११ लगत्तै सुरु भएको थियो र जसअन्तर्गत ओसामा बिन लादेन तथा उनका थुप्रै अल-कायदा षड्यन्त्रकारीहरूमाथि कारबाही भएको थियो।
