काठमाडौं । काठमाडौं उपत्यकाभर बाहिर फालिएका फोहोर समेत नउठेर दुर्गन्ध फैलिरहेको छ । सडक, नदी किनार, गल्ली र चोकमा फोहोरको डंगुर छन्, घर-घरमा थुप्रिएको फोहोर उठाउन जनताले महानगरपालिका र नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीलाई खोजिरहेको छ ।
आज काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावाली माइतीघर-तीनकुने खण्डमा नगरप्रहरी प्रहरीसँगै देखा परे । नगर प्रहरी प्रमुख धनपति सापकोटा र काठमाडौं महानगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्यालसँगै उनले सडक खण्डको मेडियनमा उम्रि एका झार उखेले । रूखका हाँगा छाँट्ने काम पनि भयो ।
तर, यही बेला २९ औं महानगर प्रहरी दिवसको अवसर पारेर काठमाडौं महानगरपालिकाले सरसफाइ अभियान चलाइरहेको छ । तर, फोहोर टिप्नभन्दा यो अभियान सडकका बीचमा रहेका मेडियन सफा गर्न केन्द्रित छ । प्रमुख प्रशासकीय अधिकृत ज्ञावाली पनि सोही अभियानमा सहभागी हुन सडकमा निस्किएका हुन् । उनी नगरप्ररहीसँगै सफाइ अभियानमा २ घण्टा सहभागी भए ।

महानगर प्रहरी दिवसको आवसर पारेर हरियाली प्रवर्द्धनका लागि सरसफाई अभियान सञ्चालन गरी वातावरणीय सुधारका सन्देश दिने प्रयास गरेको ज्ञवालीको भनाइ थियो ।
‘काठमाडौँ महानगरपालिकाले लडकडाउनका समयमा सहर बढार्ने, फोहोर संकलन तथा अन्तिम व्यवस्थापन गर्ने, झार उखेल्ने जस्ता नियमित सरसफाइका काम गर्दै आएको थियो,’ ज्ञवालीले भने, ‘आज नगर प्रहरी दिवसको अवसर पारेर काठमाडौँको यो मुख्य सडकमा सहरी सौन्दर्यीकरण र हरियाली बढाएर वातावरणीय सुधार गर्ने प्रयास स्वरुप सरसफाइ गरेका हौं ।’

गत वर्षदेखि माइतीघर मण्डलादेखि तीनकुनेसम्मका सडकका बिचका आइल्याण्डमा बगैँचा निर्माण गर्ने, विरुवा रोप्ने, मौसम अनुसारका फूलका बोट र विरुवाहरू लगाउने, मर्मत सम्भार गर्ने, हेरचाह र रेखदेख गर्ने कार्य महानगरपालिकाले नै गर्दै आएको ज्ञवालीले बताए ।
नगर प्रहरी प्रमुख सापकोटाले पनि महानगर दिवसको अवसर पारेर माइतीघर मण्डलादेखि तीनकुनेसम्म १ सय ६० जना नगर प्रहरी परिचालन गरेर सरसफाइ अभियान सञ्चालन गरेको जानकारी दिए ।
