काठमाडौं । काठमाडौं महानगरपालिकाका हरेक सडक तथा गल्लीहरुमा थुपारिएको फोहोरका कारण हुन सक्ने सम्भाबित संक्रमणको बिषयमा सर्बत्र चर्चा भइरहेको बेला काठमाण्डौ महानगरपालिकाका मेयर बिद्या सुन्दर शाक्यले फोहोर उठाउने बिषयमा सरकार संग समन्वय भइरहेको बताउनु भएको छ ।
बञ्चरेडाँडामा निर्माणाधिन स्यानिटरी ल्याण्डफिल्ड साइट र सिसडोल ल्याण्डफिल्ड साइटको स्थलगत रिपोर्टिङ गरेर फर्किएका शाक्यले सञ्चारकर्मीहरुसँग कुरा गर्दै सो कुरा बताउनु भएको हो ।
सञ्चारकर्मीहरु संग मेयर शाक्यले भन्नुभयो ‘सिसडोलसम्म जाने बाटो वर्षाका कारण विग्रिएको छ । बाटोकै कारण फोहोर बोकेर त्यहाँ पुगेका गाडीलाई पनि डोजरले ठेलेर माथिसम्म लैजानुपर्ने अवस्था छ,’ शाक्यले भने, ‘त्यहीकारण केही दिनदेखि पूर्ण रुपमा फोहोर उठाउन नसेकेका हौं ।’
‘मुख्य गरेर सिसडोलसम्म जानका लागि अस्थायी सडक निर्माणका लागि हामीले सडक विभागलाई आग्रह गरेका छौं । हामी बाटो निर्माणका लागि खर्च गर्न तयार छौं । तर, त्यहाँको डिजाइन तयार पार्न हामीले सडक विभागलाई आग्रह गरेका हौं । सहरी विकास मन्त्रालयसँग हामी पहिलादेखि नै सहकार्यमा थियौं ।’ शाक्यको भनाई रहेको छ ।
सहरी विकास मन्त्रालयले बञ्चरे डाँडाको ल्याण्डफिल्ड साइट छिटो भन्दा छिटो निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेमा स्थायी रुपमा फोहोर व्यवस्थापन गर्न सकिने मेयर शाक्यले बताउनु भयो । बञ्चरे डाँडामा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माण गर्न २०७६ बैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभीसँग ठेक्का सम्झौता भएको थियो ।
