रत्न आचार्य , धरान ।
निरन्तरको वर्षाको कारण सप्तकोसी नदीमा पानीको उच्च बहाव भएर कटान हुन थालेपछि स्थानीयहरु त्रसित बनेका छन् ।कोसी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लोपटक पानीको मापन गर्दा सप्तकोसीमा २ लाख ७४ हजार ५ क्यूसेक प्रतिसेकेण्ड बहाव पुगेको छ । सप्तकोसी नदीमा पानीको बहाव बढेसँगै कोशी ब्यारेजका ५६ मध्ये ३७ वटा ढोका खोलिएको जानकाी प्राप्त भएको छ ।
कोसीको बहाव बढदै गएपछि सुनसरीको चतरा, श्रीलंका टापु क्षेत्र र उदयपुरको बेलका नगरपालिका–८ सिसौली उत्तर लाहुरेको खोजभन्दा २ सय मिटर दक्षिण तिब्र कटान थालेको छ ।कटान तिब्र भएकाले धार परिवर्तन गरी कोशी बस्तीमा पस्ने भन्दै बेलका नगर प्रमुख दुर्गाकुमार थापाले बेलका नगरपालिका वडा नम्बर २, ३, ८ र ९ का साथै सप्तरीको सप्तकोसी र कञ्चनरुप नगरपालिकाका नागरिकलाई सजक रहन आग्रह गरिएको बेलका नगर प्रमुख दुर्गाकुमार थापाले जानकारी दिएको छ ।
उदयपुरका निमित्त प्रमुख जिल्ला अधिकारी बिनोदकुमार पोखरेलको अध्यक्षतामा बसेको विपद व्यवस्थापन समितिले तत्काल ३ सय मिटर कटान क्षेत्रमा तटबन्ध गर्ने जानकारी दिएको छ ।
भारी वर्षाको सम्भावना रहेको र चतरा क्षेत्रमा कटान भइरहेको जानकारी दिँदै सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहले सप्तरीको सप्तकोसी, कञ्चनरुप र हनुमाननगर कंकालिनी नगरपालिका तथा तिरहुत र तिलाठी कोइलाडी गाउँपालिकाको कोसी किनारका बस्ती तथा होचा स्थानहरुमा कटान हुने तिब्र सम्भावना रहेको बताएको छ ।
