काबुल विमानस्थलमा बिहीवार भएको आक्रमणमा परेर ज्यान गुमाउनेहरूको सङ्ख्या ९० पुगेको एक जनस्वास्थ्य अधिकारीले बीबीसीलाई बताएका छन्।
घाइतेहरूको सङ्ख्या १५० नाघेको बताइएको छ।मृत्यु हुने अफगानमध्ये कम्तीमा २८ जना तालिबान सदस्य रहेको एक तालिबान अधिकारीले बताएका छन्।अमेरिकी कमान्डरहरू अफगानिस्तानमा थप आक्रमणको सामना गर्नका लागि तयारी अवस्थामा रहेको एक उच्च सैन्य अधिकारीले जनाएका छन्।इस्लामीक स्टेटले काबुल विमानस्थलमा सम्भावित रकेट वा सवारीसाधन प्रयोग गरी थप आक्रमण गर्न सक्ने अमेरिकाका सेन्ट्रल कमान्ड जेनेरल फ्र्याङ्क मकेन्जीले बताएका छन्।
“तयारी गर्नका लागि हामीले सबै कुरा गरिरहेका छौँ,” उनले भने।अमेरिकी सेनाले अफगानिस्तानमा उद्धार कार्य सम्पन्न गर्नका लागि तीव्र रूपमा काम गरिरहेको छ।तालिबानसँग सहमति गरे अनुरूप अमेरिकाले उद्धार कार्य अगस्ट ३१ तारिखसम्ममा सम्पन्न गर्ने तयारी गरिरहेको छ।
