राजन थापा ।
नेपालको राजनीतिक जीवनमा एउटा गम्भीर प्रश्न खडा भएको छ। पार्टी जोगाउन त्याग गर्ने कि देउवा जोेगाएर अघि बढ्ने रु देउवा सरकार जोगाउन लागौं, पार्टी संकटमा पर्ने। पार्टी जोगाउन लागौं,राजनीतिक लाइन जोखिममा पर्ने। इतिहासकै गम्भीर मोडमा सुझबुझपूर्ण निर्णय लिने बेला आएको छ। हिजोसम्म नेपालको अभियानमा साथ दिएका नेताहरू आज पार्टी जोगाउन लागिपरेका छन्।
कार्यदलमा आफूले राखेका नेताहरू पार्टी एकताका पक्षमा उभिन उनलाई दबाब बढाइरहेका छन्। तर अध्यक्ष ओलीसँग नेता नेपालको दुरी घट्नुको साटो बढ्दो छ। दोस्रो तहका नेताहरू मिलाउँंदै गए पनि दुई शीर्ष नेताहरू दोहोरी खेल्दैछन्। एकले अर्कोमाथि आरोप लगाउने र तुच्छ व्यवहार गर्ने बानीमा कमी आएको छैन।पार्टी जोगाउन लागौं, आफूमाथि नैतिक प्रश्न उठ्ने। देउवा जोगाउन लागौं, पार्टी धरापमा पर्ने।
नेपाल अब कुन बाटो समात्छन् भन्ने चर्चा र चासो छ। देउवालाई साथ नदिने हो भने उनले अँगालेको बाटोले सार्थकता पाउने छैन। पार्टी जोगाउन देउवालाई विश्वासको मत नदिने हो भने फेरि पनि संसद् विघटनमा जानेछ। मुलुक ‘अर्लि इलेक्सन’ मा जानेछ। ओलीले लिएकै बाटो ठिक थियो भन्ने दिशामा मुलुक जानेछ। जुन कुरा सम्भवतः उनलाई पीडादायी हुनेछ।
यतिबेला देउवालाई साथ नदिने हो भने हिजो सर्वोच्च अदालतमा बुझाइएको २३ सांसदको हस्ताक्षरमाथि नै प्रश्न उठ्नेछ। नेपालले राजनीतिक बेइमानी गरेको ठहरिनेछ। उनकै समर्थनमा संसद् पुनस्र्थापना गरी देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा निवेदन परेको थियो। माग अनुसारकै सर्वोच्चले फैसला सुनाए पनि संसद्मा विश्वासको मत नलिँदासम्म देउवा सरकार ढुक्क हुने स्थिति छैन।
नेपाल पक्षको समर्थनबिना देउवा सरकारका पक्षमा बहुमत पुग्ने अवस्था छैन। कि त राष्ट्रिय जनता पार्टीले देउवालाई मत दिनुपर्छ। तर राजपाभित्रको द्वन्द्वले पार्टी एक ढिक्का भएर देउवाको पक्षमा उभिने अवस्था न्यून छ।
नेता नेपाल देउवा जोगाउन लाग्ने हो भने पार्टी जीवन संकटमा पर्नेछ। हावाहुण्डरी, असिनापानी, भोकैनांगै लाखौं नेता, कार्यकर्ताको रगत पसिनाबाट सिर्जित पार्टी क्षणभरमै चकनाचुर भएको दृश्य पक्कै पनि पीडादायी हुनेछ।
पार्टी जीवन संकटमा पारेर कथंकदाचित पार्टी विभाजनमा पुगे भने उनको राजनीतिक जीवनमा सबैभन्दा ठूलो दाग लाग्नेछ। ५१ वर्षको पार्टीको योगदानलाई कार्यकर्ताले बिर्सने अवस्था आउनेछ। देउवा सरकार जोगाउन नेपाल पक्ष उभिए चुप लागेर नबस्ने संकेत पार्टी अध्यक्ष ओलीले गरिसकेका छन्। नेपाललगायत ११ नेतामाथि गरेको कारबाही फिर्ता लिए पनि विपक्षी पार्टीको सरकार जोगाउनेमाथि ओली कडा रूपमा प्रस्तुत हुने संकेत उनले पछिल्ला दिनमा गरिसकेका छन्।
आफ्नै पार्टीनेतृत्वको सरकार भत्काउन प्रमुख भूमिका खेलेको भन्दै ओलीले वरिष्ठ नेता नेपाललाई एमालेमा अब ठाउँ नभएको घोषणा गरिसकेका छन्। नेपाल पक्षको सहभागिताबिना नै ओलीले स्थायी समिति र संसदीय दलको बैठक गरेर महत्वपूर्ण निर्णय भ्याइसकेका छन्। ओली र नेपाल पक्षधर ५–५ नेता सम्मिलित कार्यदलको प्रतिवेदनलाई अनुमोदन गर्दा समेत नेपालको मन पग्लिएन।

