सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको टोलीले उत्तर छिमेकी मुलुक चीनसँगको सीमा क्षेत्रको अनुगमन गरेको छ । मुख्यमन्त्री सहितको एक सरकारी टोलीले शनिबार चीनसँगको सीमा जोडिएको हुम्लाको नाम्खा गाउँपालिका-६ लाप्चा (लोलुङजोङ) क्षेत्रको स्थलगत अनुगमन गरेको हो ।
लोलुङजोङ विवादित क्षेत्र हो । गत असोजमा चीनले लोलुङजोङ क्षेत्रमा केही भवनहरु बनाएपछि सीमा मिचिएको भन्दै विवादमा तानिएको थियो । ढिलै भए पनि प्रदेश सरकारको तर्फबाट आफ्नो भूमिको रक्षार्थ पहल शुरू भएको सो क्षेत्रको स्थलगत निरीक्षण गरेका काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही बताउँछन् ।
नेता शाहीले भने ‘अहिलेसम्म त यो मुद्दा केवल हुम्लावासीको मात्रै देखिन्थ्यो, अब प्रदेश सरकारले पनि चासो दिएको छ, बिस्तारै संघीय सरकार र सिंगो नेपालीको चासोको विषय बन्ने छ,’ ।
सोही क्षेत्रका जनप्रतिनिधिसमेत रहेका नेता शाहीले यस अघि पनि चीनले नेपाली भूमि मिचेको दाबी गर्दै आएका थिए । शनिबारको स्थलगत निरीक्षण पश्चात पनि नेपाल-चीन दुवैको तर्फबाट सीमामा तलमाथि भएको देखिएको बताए ।
‘स्थलगत निरीक्षणका क्रममा कतै चिनियाँ भूमि हाम्रोतिर त कतै हाम्रो भूमि चीनतर्फ परेको देखियो, सिमा स्तम्भ छलमाथि परेका छन्,’ उनले भने । प्रदेश सरकारले पनि उक्त समस्याबारे समाधानका लागि संघीय सरकारलाई सिफारिस गर्नुपर्ने नेता शाही भनाइ छ ।
‘गत वर्ष यो क्षेत्र विवाद बन्दा मैले मुख्यमन्त्री ज्यूलाई ज्ञापनपत्र बुझाएको थिएँ, ज्ञापन पत्रपछि सरकारको ध्यानाकर्षण भएर मुख्यमन्त्रीसहितको टोलीले स्थालगत निरीक्षण गरेको हो ’उनले थपे ।
मुख्यमन्त्रीसहित कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही र पूर्व भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीसहितको टोली हेलिकोप्टरबाट लोलुङजोङ पुगेको थियो ।
प्रदेश सरकारको तर्फबाट सीमा नाकाको अध्ययन तथा अनुगमन लागि मुख्यमन्त्रीसहितको टोली शुक्रबार नै हुम्ला पुगेको थियो । टोलीले लाप्चा र हिल्सा सीमाक्षेत्र पनि अनुगमन गरेर र्फकने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
शुक्रबार एकाएक मुख्यमन्त्री र काँग्रेस नेता शाही सुटुक्क हुम्ला पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । गत वर्ष सीमा विवाद उत्कर्षमा पुगेका बेला मुख्यमन्त्री शाही मौन थिए ।
