काठमाडौँ । निर्वाचन आयोगले संविधान र निर्वाचन कानून अनुसार दलको सङ्गठन संरचना र प्रतिनिधित्व हुनुपर्ने कुरामा जोड दिएको छ ।
निर्वाचन आयोगले राजनीतिक दलका लैङ्गिक तथा समावेशी सम्पर्क व्यक्तिसँग निर्वाचन सञ्चालन तथा व्यवस्थापन, राजनीतिक दल, आचार संहिता र राजनीतिक दलको भूमिका, लैङ्गिक तथा समावेशी नीति र समावेशी व्यवस्थापन लगायतका विषयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै उक्त कुरा जनाएको हो ।
संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई आमन्त्रण गरिएकोमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी नेपाललगायत १२ दलको सहभागीता रहेको उक्त कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले संविधान र निर्वाचन सम्बन्धी कानूनमा भएको व्यवस्था अनुसार समावेशी प्रतिनिधित्व हुनुपर्ने दलको ध्यानाकर्षण गराउनुभयो ।
नेपालको संविधानले समानुपातिक समावेशी तथा सहभागितामूलक सिद्धान्तमा आधारित राज्य व्यवस्थाको परिकल्पना गरेको सन्दर्भमा राजनीतिक दलको सङ्गठन संरचना र प्रतिनिधित्व पनि सोही बमोजिम व्यवस्थित हुनुपर्नेमा जोड दिनुभएको छ ।
