काठमाण्डौं । ज्वाइँलाई छोरा भनेर नागरिकताको प्रमाणपत्र दिने दाङ देउखुरीको राजपुर गाउँपालिका – ७ का वडाध्यक्ष भीमबहादुर खड्कासहित त्यही वडाका भीमबहादुर कामी र उनकी छोरी सुशीला विकलाई पक्राउ परेकाे जानकारी प्राप्त भएकाे छ ।
भीमबहादुर कामीले उनका ज्वाइँ अर्जुन बिकलाई छोरा बनाएर नागरिकता दिएको र वडाले पनि सिफारिस गरेको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ । नागरिकता बनाउँदा अर्जुनको नाम लिलाराम बिक राखिएको छ । अर्जुन सुशीलाका श्रीमान् हुन् । हाल उनी रोजगारीको सिलसिलामा विदेशमा छन् ।
नागरिकतबारे उजुरी परेपछि अनुसन्धान गर्दा नागरिकता २०७५ साल असोज ४ गते इलाका प्रशासन कार्यालय लमहीबाट जारी भएको थियो । नागरिकतामा ईलाका प्रशासन कार्यालय लमहीका प्रमुख प्रेमबहादुर खवासको हस्ताक्षर छ । यस कार्यमा भीमबहादुरकी छोरी सुशीला मुख्य मतियारको रुपमा संलग्न भएको पाइएको प्रहरीले जनाएको छ ।
