खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा कोभिड-१९ बाट संक्रमित महिलाले बच्चा जन्माएकी छन् । दिप्रुङ चुईचुम्मा गाउँपालिका-१ याम्खाकी २४ वर्षीय गुरागाईं थरकी महिलाले शनिबार राती स्वस्थ बच्चा (छोरी)लाई जन्म दिएकी हुन् ।
शनिबार दिउँसो याम्खास्थित अस्थायी कोभिड अस्पतालमा भर्ना भएकी गुरागाईँले पहिलो सन्तान जन्माएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए । अहिले आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य छ ।
महिलालाई ५ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । नवजात शिशुको तौल ३ सय ग्राम रहेको स्वास्थ्यचौकी याम्खाले जनाएको छ । कोभिड-१९ को महामारीका बेला ज्यानको बाजी लगाएर स्वास्थ्यकर्मीले संक्रमित महिलालाई सुत्केरी गराएको गाउँपालिका अध्यक्ष राईले बताए ।
