बागलुङ । बागलुङमा पछिल्लो तीन दिनयता आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । जिल्लाका विभिन्न स्थानमा पहिरोले घर पुरिँदा १२ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घटनामा एक जना अझै बेपत्ता छन् भने केही व्यक्ति घाइते भएका छन् ।
ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु, म्याग्दीको मालिका गाउँपालिका–२ निवासी ७९ वर्षीया नरमाया रोकाको पहिरोमा पुरिएर मृत्यु भएको हो । घटनामा पुनकी श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंका अनुसार पहिरोमा परी घाइते भएकाहरूको अवस्था सामान्य रहेको छ । यसअघि शनिबार पनि ताराखोला गाउँपालिकामै बाढीपहिरोमा परी एक जनाको मृत्यु भएको थियो । पछिल्लो घटनासँगै ताराखोलामा मात्रै बाढीपहिरोबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
आइतबार तमानखोला गाउँपालिकामा गएको बाढीपहिरोमा परी चार जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ता भएका थिए । त्यसैगरी निसीखोला गाउँपालिकामा पनि बाढीपहिरोका कारण पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लगातारको वर्षासँगै जिल्लाका विभिन्न क्षेत्रमा बाढी र पहिरोको जोखिम बढेपछि स्थानीय प्रशासन तथा सुरक्षा निकायले उद्धार र खोजी कार्यलाई निरन्तरता दिएका छन् । बेपत्ता व्यक्तिको खोजीका साथै जोखिममा रहेका बस्तीको अवस्थाबारे समेत निगरानी भइरहेको प्रहरीले जनाएको छ ।
