काठमाडौँ । देशका विभिन्न स्थानमा भइरहेको अविरल वर्षा, बाढी र पहिरोका कारण देशभरको सडक सञ्जाल प्रभावित भएको छ । मुख्य राजमार्गदेखि ग्रामीण तथा सहायक सडकसम्म पहिरो र बाढीले क्षति पुर्याउँदा दर्जनौँ सडक खण्डमा यातायात सेवा अवरुद्ध भएको छ ।
नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार काठमाडौँ उपत्यकासहित बागमती, कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ । केही स्थानमा पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइए पनि प्रतिकूल मौसम र सडकको जोखिमका कारण आवागमन सहज हुन सकेको छैन ।
बागमती प्रदेशमा ललितपुरको कान्तिलोकपथ र टिकाभैरव–चारघरे सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द छन् । धादिङस्थित पृथ्वी राजमार्गको कृष्णभीर र चालिसेमा पहिरो हटाएर एकतर्फी यातायात सञ्चालन गरिएको छ । तर, धादिङ र आसपासका क्षेत्रमा सुरक्षा जोखिमलाई ध्यान दिँदै अर्को सूचना जारी नभएसम्म आवागमनमा रोक लगाइएको छ । रसुवाका मुख्य राजमार्ग बाढीका कारण अवरुद्ध छन् भने मकवानपुरको हेटौँडा–भैँसे–भीमफेदी–फाखेल–काठमाडौँ सडक खण्डमा पनि यातायात ठप्प छ । काभ्रेको बीपी राजमार्गमा भने एकतर्फी यातायात सञ्चालन भइरहेको छ ।
कोशी प्रदेशको सोलुखुम्बुमा भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै सिद्धिचरण लोकमार्गलगायतका सडकमा राति ८ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यकबाहेकका सवारीसाधन तथा पैदलयात्रीको आवागमनमा रोक लगाइएको छ । गण्डकी प्रदेशमा मनाङको चामे–बेँसीसहर, बागलुङको कालीगण्डकी करिडोर, म्याग्दीको बेनी–जोमसोम र बेनी–दरबाङ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । त्यस्तै, मुस्ताङको जोमसोम–कोरला, पर्वतको मालढुङ्गा–बेनी, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, लमजुङको मध्यपहाडी लोकमार्ग र तनहुँको पृथ्वी राजमार्गअन्तर्गत घाँसीकुवा क्षेत्रमा पनि यातायात सञ्चालन हुन सकेको छैन ।
यसैगरी, लुम्बिनी प्रदेशको गुल्मीस्थित कालीगण्डकी करिडोर तथा कर्णाली प्रदेशको कालिकोटस्थित कर्णाली राजमार्गको गगने खोला र मुगुको नाग्म–गमगढी सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन् । अवरुद्ध सडक खुलाउन प्रहरी, स्थानीय प्रशासन तथा सम्बन्धित निकायले प्रयास गरिरहेका छन् । वर्षा र पहिरोको जोखिम कायमै रहेकाले सडक खुलाउने काममा कठिनाइ भइरहेको छ ।
प्रहरीले यात्रामा निस्कनुअघि सम्बन्धित क्षेत्रको सडक अवस्थाबारे जानकारी लिन तथा जोखिमयुक्त सडकमा अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । साथै, बाढीपहिरोको जोखिम रहेका क्षेत्रमा सतर्कता अपनाउन र सडक खुला भएको आधिकारिक जानकारी प्राप्त भएपछि मात्र यात्रा गर्न आग्रह गरिएको छ ।



