भक्तपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा भक्तपुर निर्वाचन क्षेत्र नं. १ बाट पेशागततर्फ महाधिवेशन प्रतिनिधिका लागि अधिवक्ता किरण न्यौपानेले उम्मेदवारी घोषणा गर्नुभएको छ।
कानुन व्यवसायसँगै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आउनुभएका न्यौपानेले पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र समयानुकूल बनाउन आफूले उम्मेदवारी दिएको बताउनुभएको छ। उहाँले पार्टीभित्र पेशागत क्षेत्रको प्रतिनिधित्वलाई प्रभावकारी बनाउँदै विधिको शासन, लोकतान्त्रिक मूल्य–मान्यता र संगठनात्मक सुधारका विषयलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
न्यौपाने गत वर्ष फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्षतर्फ उम्मेदवारसमेत बन्नुभएको थियो। निर्वाचनका क्रममा क्षेत्रका मतदातासँग प्रत्यक्ष सम्पर्कमा रहेर संगठन तथा जनसम्बन्धलाई निरन्तरता दिनुभएका न्यौपानेले यसपटक महाधिवेशन प्रतिनिधिका रूपमा पार्टीको नीति निर्माण र संगठन सुदृढीकरणमा योगदान गर्ने लक्ष्यसहित उम्मेदवारी अघि सार्नुभएको हो।
उहाँले नेपाली कांग्रेसलाई समयानुकूल, जनमुखी र बलियो लोकतान्त्रिक संगठनका रूपमा अघि बढाउन कार्यकर्ता, पेशागत क्षेत्र र नयाँ पुस्ताबीच थप समन्वय आवश्यक रहेको बताउँदै त्यसका लागि आफूले सक्रिय भूमिका निर्वाह गर्ने धारणा राख्नुभएको छ।
न्यौपानेले पार्टीभित्र विचार, अनुभव र पेशागत दक्षताको सम्मान गर्दै संगठनमा सबै तहका नेता तथा कार्यकर्ताको सहभागिता सुनिश्चित गर्ने विषयलाई आफ्नो प्राथमिकतामा राख्नुभएको छ। भक्तपुर–१ का कांग्रेस प्रतिनिधि तथा कार्यकर्तामाझ आफ्नो उम्मेदवारीका विषयमा छलफल अघि बढाउँदै उहाँले महाधिवेशन प्रतिनिधिका रूपमा जिम्मेवारी प्राप्त भए पार्टी र क्षेत्रका पक्षमा प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभएको छ।
