भक्तपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा भक्तपुर क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिका लागि जीवन खत्रीले खुलातर्फ उम्मेदवारी घोषणा गर्नुभएको छ। लामो समयदेखि नेपाली कांग्रेसको संगठन तथा विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आउनुभएका खत्रीले आफ्नो उम्मेदवारीसँगै क्षेत्रीय प्रतिनिधिहरूसँग मत तथा सहयोगको अपिल गर्नुभएको हो।
‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालको लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने नारासहित उम्मेदवारी घोषणा गर्नुभएका खत्रीले पार्टीको परम्परागत मूल्य र आदर्शलाई संरक्षण गर्दै समयअनुकूल संगठनात्मक सुधार र रूपान्तरण आवश्यक रहेको बताउनुभएको छ।
खत्री २०५२ सालदेखि नेपाल विद्यार्थी संघमार्फत कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आउनुभएको हो। उहाँले भक्तपुर क्याम्पसको स्ववियु सदस्य हुँदै २०५७ सालमा स्ववियु सभापतिको जिम्मेवारी सम्हाल्नुभएको थियो। त्यसपछि नेविसंघ भक्तपुर जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्यको जिम्मेवारीमा समेत रहेर विद्यार्थी तथा पार्टी संगठनमा काम गर्नुभएको छ।
पार्टी राजनीतिमा क्षेत्रीय सचिवको जिम्मेवारीसमेत सम्हाल्नुभएका खत्री १३औँ र १४औँ महाधिवेशनमा भक्तपुर क्षेत्र नं. १ को क्षेत्रीय सभापतिको भूमिकामा रहनुभएको थियो। लामो राजनीतिक अनुभव र संगठनमा गरेको योगदानलाई आधार बनाउँदै उहाँले यसपटक महाधिवेशन प्रतिनिधिका रूपमा खुलातर्फ उम्मेदवारी दिनुभएको हो।
आफ्नो उम्मेदवारी पार्टी संगठनलाई थप सुदृढ, सशक्त र रूपान्तरणमुखी बनाउने उद्देश्यमा केन्द्रित रहेको खत्रीले बताउनुभएको छ। स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्मका जनसरोकारका मुद्दालाई पार्टीको नीति, नेतृत्व र महाधिवेशनको बहससम्म प्रभावकारी रूपमा पुर्याउन आफूले भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ।
खत्रीले भक्तपुर क्षेत्र नं. १ का सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरूलाई आफ्नो उम्मेदवारीमा समर्थन जनाउँदै अमूल्य मत प्रदान गरी विजयी गराउन हार्दिक अपिल गर्नुभएको छ।
