काठमाडौं । पछिल्लो चार दिनदेखि परेको अविरल वर्षा, बाढी, पहिरो तथा हावाहुरीका कारण देशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको छ। सरकारले विपद्मा परी घाइते भएका नागरिकको सम्पूर्ण उपचार खर्च निःशुल्क रूपमा बेहोर्ने भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै असोज ८ गतेदेखि आएको बाढी, पहिरो, वर्षा तथा अन्य मनसुनजन्य विपद्मा परी घाइते भएका पाँच जनाको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने जानकारी दिएका हुन्। उनले घाइतेको उपचारमा कुनै कमी हुन नदिने बताउँदै अझै जोखिम कायम रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज ८ देखि ११ गतेसम्मको विपद्मा परी देशभर २१ जनाको मृत्यु, पाँच जना बेपत्ता र पाँच जना घाइते भएका छन्। यस अवधिमा बाढीका ५३, पहिरोका २५६ र अविरल वर्षाका ११७ गरी ४२६ वटा घटना अभिलेख भएका छन्। बाढीमा चार, पहिरोमा १४ र अविरल वर्षाका कारण तीन जनाको मृत्यु भएको विवरण छ।
विपद्का कारण १४३ घर पूर्ण रूपमा र ५१ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् भने ७४७ परिवार प्रत्यक्ष प्रभावित भएका छन्। जोखिममा परेका विभिन्न जिल्लाबाट करिब २ हजार नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। चार दिनको अवधिमा देशभरका १८६ वर्षामापन केन्द्रमध्ये धेरै केन्द्रमा १०० मिलिमिटरभन्दा बढी वर्षा भएको थियो। सबैभन्दा बढी नवलपरासी पूर्वको डेढगाउँमा ५४४.२ मिलिमिटर, कास्कीको पञ्चासेमा ५००.२ मिलिमिटर र तनहुँको अत्रौलीटारमा ४७२ मिलिमिटर वर्षा मापन भएको छ।
बागलुङमा मात्रै १० जनाको मृत्यु र एक जना बेपत्ता भएका छन्। बाढीपहिरोबाट जिल्लामा २३ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने २६ घरका ८० जना विस्थापित भएका छन्। २३ वटा पशु मरेका छन्।
पाल्पामा पाँच जनाको मृत्यु भएको छ। माथागढी गाउँपालिकाका विभिन्न क्षेत्रमा पहिरोले घर तथा गोठ पुरिँदा मानवीय तथा भौतिक क्षति भएको छ। कालीगण्डकी नदीको बहाव बढेपछि रिडी, रानीमहल, राम्दी, हुँदी, होस्दी र भुजातलगायत क्षेत्रमा कटान तथा बाढीको प्रभाव परेको छ।
पर्वतमा कालीगण्डकी नदीको बाढीले १६ घर पूर्ण र चार घर आंशिक रूपमा क्षतिग्रस्त बनाएको छ। ८२ घर जोखिममा परेका छन् भने १६२ परिवारका ५४० जना विस्थापित भएका छन्। तीनवटा पुलमा क्षति पुगेको छ। बाढीले मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत–बागलुङ जोड्ने मालढुंगा पुलमा समेत क्षति पुर्याएपछि यातायात प्रभावित भएको छ।
नवलपरासी पूर्वमा १५ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने १४८ घर जोखिममा छन्। १६२ परिवारका ६१३ जना विस्थापित भएका छन्। नारायणी नदीको बहाव बढेपछि विभिन्न बस्तीमा डुबानको जोखिम बढेको थियो।
स्याङ्जामा १३ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने १० घर जोखिममा छन्। २३ परिवारका ७२ जना विस्थापित भएका छन्। जिल्लामा एउटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने गुल्मी–स्याङ्जा जोड्ने बेलिब्रिजसमेत बाढीले बगाएको छ।
तनहुँमा १० घर पूर्ण र ६ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। आठ घर जोखिममा छन् भने १८ घरका ५४ जना विस्थापित भएका छन्। बाढीपहिरोमा पाँच पशु मरेका तथा दुई पुलमा क्षति पुगेको विवरण छ। लमजुङमा दुई जना घाइते भएका छन् भने घर तथा अन्य संरचनामा क्षति पुगेको छ। कास्की, गोरखा र मनाङमा पनि घर, गोठ, पुल तथा सरकारी संरचनामा क्षति पुगेको छ।
यसैगरी धनुषाको मिथिला नगरपालिका–११ आँपगाछीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ। म्याग्दी, जाजरकोटलगायत जिल्लामा समेत बाढीपहिरोमा फसेका नागरिकको नेपाली सेना तथा अन्य सुरक्षा निकायले उद्धार गरेका छन्। नेपाली सेनाले मात्रै पर्वत, म्याग्दी, बागलुङ र जाजरकोटका विभिन्न स्थानबाट एकै दिन ६८४ जनाको उद्धार गरेको जनाएको छ।
सरकारले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई प्राथमिकतामा राखेको जनाएको छ। जोखिम अझै कायम रहेकाले नदी किनार, पहिरोको जोखिम भएका बस्ती तथा यात्रा गरिरहेका नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ। प्रधानमन्त्री शाहले संकटमा परेका नागरिकलाई तत्काल उद्धारका लागि निःशुल्क नम्बर १२३४ मा सम्पर्क गर्न आग्रह गरेका छन्।
