काठमाडौं । प्रतिनिधि सभाको दोस्रो अधिवेशनअन्तर्गत सोमबार बस्ने बैठकमा विभिन्न आठवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची तय भएको छ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्ने कार्यसूचीमा उल्लेख छ।
कार्यसूचीअनुसार प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्ने र त्यसपछि विधेयक प्रस्तुत गर्ने कार्यक्रम छ।
त्यसैगरी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री मिता बादीले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले पनि विभिन्न विधेयक प्रस्तुत गर्ने कार्यसूची छ। उनले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’, ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३’, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ र ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यक्रम छ।
कार्यसूचीमा यी विधेयकहरू प्रस्तुत गर्नुअघि सम्बन्धित मन्त्रीहरूले विधेयक प्रस्तुत गर्ने अनुमति माग्ने प्रस्तावसमेत पेश गर्ने उल्लेख छ। कार्यसूचीको अन्त्यमा प्रतिनिधि सभाका महासचिव पद्म प्रसाद पाण्डेयको नाम उल्लेख गरिएको छ।
यसअनुसार सोमबारको बैठकमा सरकारका तर्फबाट विभिन्न मन्त्रालयसम्बद्ध विधेयकहरू संसद्मा औपचारिक रूपमा प्रस्तुत हुनेछन्।
