अमेरिका । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपालीको राहत तथा पुनःस्थापनाका लागि अमेरिकामा रहेका तीन नेपाली संस्थाले २ लाख २६ हजार अमेरिकी डलर सहयोग गरेका छन् । सम्बन्धित संस्थाका प्रतिनिधिहरूले उक्त सहयोग रकम परराष्ट्रमन्त्री शिशिर खनाललाई छुट्टाछुट्टै चेकमार्फत हस्तान्तरण गरेका हुन् ।
सहयोग गर्ने संस्थामध्ये NH Nepali Samaj ले १ लाख २० हजार अमेरिकी डलर प्रदान गरेको छ । त्यसैगरी America Nepal Helping Society, Virginia ले ९३ हजार अमेरिकी डलर र Gurung Society Inc. USA ले १३ हजार अमेरिकी डलर सहयोग गरेको छ । तीनवटै संस्थाले भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने उद्देश्यले रकम उपलब्ध गराएका हुन् ।
भोटेकोशी नदीमा आएको बाढीले बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनासहितका महत्वपूर्ण संरचनामा ठूलो क्षति पुर्याएको थियो । बाढीका कारण कतिपय परिवार विस्थापित भएका छन् भने स्थानीयको घर, सम्पत्ति तथा जीविकोपार्जनका साधनमा समेत क्षति पुगेको छ । प्रभावित क्षेत्रमा तत्कालीन राहतसँगै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र प्रभावित परिवारको पुनःस्थापनाको आवश्यकता देखिएको छ ।
अमेरिकामा रहेका नेपाली समुदाय तथा संस्थाहरूले बाढीपीडितको पीडामा साथ दिँदै संकलन गरेको रकम सोही राहत तथा पुनःस्थापनाका लागि हस्तान्तरण गरिएको जनाइएको छ । विदेशमा रहेका नेपालीबाट प्राप्त यस्तो सहयोगले विपद्बाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउन तथा क्षतिग्रस्त क्षेत्रको पुनःस्थापनामा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सहयोग रकम ग्रहण गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीबाट प्रभावित नेपालीप्रति देखाएको ऐक्यबद्धता र सहयोगका लागि तीनवटै संस्था तथा अमेरिकामा रहेका नेपाली समुदायप्रति आभार व्यक्त गरे । उनले विपद्को समयमा स्वदेश तथा विदेशमा रहेका नेपालीबीच देखिएको सहयोग र एकताले प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा थप बल पुग्ने बताए ।
