भक्तपुर । भक्तपुरको मध्यपुरथिमिमा ३५० वर्ष पुरानो ऐतिहासिक एवं सांस्कृतिक परम्पराअन्तर्गत इन्द्रजात्राको अवसरमा बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडाएर जात्रा मनाएका छन्। भाद्र शुक्ल पूर्णिमाको भोलिपल्ट ञंलाथ्व पुन्हिका दिन उनले जिब्रो छेडाएर महाद्वीप (भेय्) बोकी खाली खुट्टा मध्यपुरथिमिका विभिन्न टोल तथा मन्दिरको परिक्रमा गरेका हुन्।
मध्यपुरथिमि नगरपालिका–४ र ५ को सङ्गमस्थल दिगुटोलस्थित दिगुभैरव मन्दिरअगाडिको डबलीमा आज राति ८ः३० बजे कर्मी नाइके बाबुकाजी श्रेष्ठले तीन वटा चुच्चो भएको करिब १० इन्च लामो फलामको सियोले वीरेन्द्रभक्तको जिब्रो छेडिदिएका थिए। हजारौँ स्थानीय तथा जात्राप्रेमीको उपस्थितिमा जिब्रो छेडाएपछि उनले महाद्वीप बोकेर खाली खुट्टा नगर परिक्रमा सुरु गरेका हुन्। धार्मिक आस्था, साहस र ऐतिहासिक परम्परासँग जोडिएको यो जात्रा मध्यपुरथिमिको विशिष्ट सांस्कृतिक पहिचानका रूपमा रहँदै आएको छ।
वीरेन्द्रभक्तले यसअघि २०७४ सालमा पहिलोपटक जिब्रो छेडाएका थिए। त्यसपछि २०७९, २०८१ र २०८२ सालमा पनि जिब्रो छेडाएका उनले यस वर्ष पाँचौँ पटक उक्त परम्परालाई निरन्तरता दिएका हुन्। आर्थिक अभाव र विभिन्न कारणले बीचबीचमा रोकिँदै आएको जात्रा २०६३ सालपछि ११ वर्षको अन्तरालमा २०७४ सालमा उनकै अगुवाइमा पुनः सुरु भएको थियो। विसं २०७५ मा बालकराम श्रेष्ठले एकपटक जिब्रो छेडाएका थिए भने यसअघि कृष्ण नानिचा श्रेष्ठले २०५२, २०५७ र २०६३ सालमा जिब्रो छेडाएका थिए। कोरोना महामारीका कारण पनि जात्रा प्रभावित भएको थियो।
यस वर्षको जात्रा दिगुटोलबाट सुरु भई बालकुमारी, दक्षिणबाराही, चारदोबाटो, सिद्धिकाली मन्दिर, नासननी, चपाचो, गार्चा, नगदेश, सिद्धिगणेश मन्दिर, भीमसेन चोक, नगरपालिका चोक, पाटीबिहार, पोबु, भुलांखेल, चोडे, दुईपोखरी, शिवाटोल, दथुटोल, बालकुमारी, तछुटोल र विष्णुवीर हुँदै बालकुमारी मन्दिर परिसरमा पुगेर सम्पन्न हुने परम्परा छ। जिब्रो छेडेपछि महाद्वीप बोकेर नगरका विभिन्न टोल तथा मन्दिर परिक्रमा गर्ने र अन्त्यमा बालकुमारी मन्दिर परिसरमा सियो निकालेर जात्रा विसर्जन गर्ने प्रचलन रहेको छ।
गत वर्ष २०८२ मा वीरेन्द्रभक्तले करिब ३० किलोको महाद्वीप बोकेर खाली खुट्टा पशुपतिनाथ मन्दिरसम्म पुगेर फर्किएका थिए। उक्त यात्रामा उनले करिब २८ किलोमिटर दूरी पैदल पार गरेका थिए। त्यसअघि २०८१ सालमा भक्तपुरको नवदुर्गा मन्दिरसम्म पुगेर फर्किँदा उनले करिब १३ किलोमिटर यात्रा पूरा गरेका थिए। जात्राका क्रममा जिब्रो छेड्ने व्यक्तिको इच्छाअनुसार परिक्रमा मार्ग तय गर्ने परम्परा रहेको छ।
जात्रा सञ्चालन गर्न करिब ६ लाख रुपैयाँभन्दा बढी खर्च हुने आयोजकले जनाएका छन्। बागमती प्रदेश सरकार र मध्यपुरथिमि नगरपालिकाबाट सहयोग प्राप्त भए पनि आवश्यक खर्चको ठूलो हिस्सा जिब्रो छेड्ने व्यक्ति तथा स्थानीयवासीले नै जुटाउँदै आएका छन्। किंवदन्तीअनुसार प्राचीनकालमा थिमिमा भूतप्रेत तथा पिशाचको आतङ्क बढेर मानिसको ज्यान जाने गरेपछि त्यसलाई नियन्त्रण गर्न एक व्यक्तिको जिब्रो छेडी नगर परिक्रमा गराइएको थियो। त्यसपछि भूतप्रेत भागेर नगरमा शान्ति स्थापना भएको जनविश्वास छ। जात्रा सम्पन्न गरेपछि नगरवासी रोगव्याधि, अनिकाल तथा प्राकृतिक विपत्तिबाट सुरक्षित रहने धार्मिक विश्वाससमेत रहँदै आएको छ।
