काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनलाई काठमाडौँको महाराजगन्जस्थित निवासबाट पक्राउ गरेको हो। जबराविरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको बताइएको छ। तर, उजुरीमा उल्लेख गरिएको विषय र पक्राउको विस्तृत कारण भने सार्वजनिक गरिएको छैन।
राणा परिवारका सदस्य जबरा पूर्वप्रधानमन्त्री वीरशमशेर जबराका चौथो पुस्ताका सन्तान हुन्। उनका पिता युवराज शमशेर तत्कालीन राजसभा स्थायी समितिका सदस्य थिए। वकालत पेसाबाट न्याय क्षेत्रमा प्रवेश गरेका जबरा २०५३ वैशाख १ गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीश नियुक्त भएका थिए। लामो समय अस्थायी न्यायाधीशका रूपमा काम गरेका उनी विशेष अदालतको सदस्यसमेत बनेका थिए।
पुनरावेदन अदालत बुटवलको कायममुकायम मुख्य न्यायाधीश रहेका बेला २०७१ सालमा उनी सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए। सर्वोच्च अदालतको न्यायाधीशका रूपमा काम गरेपछि जबराले २०७५ पुस १८ गते प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए। उनले करिब चार वर्ष सर्वोच्च अदालतको नेतृत्व गरेका थिए।
जबराको कार्यकालमा मन्त्रिपरिषद्मा भागबण्डा, न्यायिक नियुक्ति तथा मुद्दाको पेसी व्यवस्थापनलगायत विषयमा प्रश्न उठेका थिए। उनलाई पदबाट हटाउनुपर्ने माग गर्दै कानुन व्यवसायीहरूले आन्दोलनसमेत गरेका थिए। न्यायपालिकाको नेतृत्व र कार्यशैलीलाई लिएर विवाद चर्किएपछि २०७८ फागुन १ गते उनीविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएको थियो। प्रस्ताव दर्ता भएसँगै उनी प्रधानन्यायाधीशको जिम्मेवारीबाट निलम्बनमा परेका थिए।
महाअभियोग सिफारिस समितिले जबरामाथि लागेका आरोपबारे छानबिन गर्दै बयानसमेत लिएको थियो। समितिले विभिन्न आरोपमाथि अध्ययन गरी प्रतिवेदन तयार पारे पनि संसद्को कार्यकाल र राजनीतिक घटनाक्रमका कारण महाअभियोग प्रक्रिया अन्तिम निष्कर्षमा पुग्न सकेन। महाअभियोग प्रस्ताव पारित नभए पनि उनी सर्वोच्च अदालतमा फर्किन पाएनन् र उनको प्रधानन्यायाधीशका रूपमा कार्यकाल समाप्त भयो। लामो समयदेखि न्यायिक वृत्तमा चर्चामा रहेका जबरा पछिल्लो पटक पक्राउ परेपछि उनीविरुद्ध परेको उजुरी र त्यसको कानुनी प्रक्रियाबारे चासो बढेको छ।
