दिपेश श्रेष्ठ । नेपाली साहित्यका बहुआयामिक स्रष्टा श्रवण मुकारुङको उपन्यास ‘सलह’ ले पद्मश्री साहित्य पुरस्कार–२०८२ प्राप्त गर्ने भएको छ। खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले २०८२ सालमा प्रकाशित उत्कृष्ट कृतिमध्ये ‘सलह’लाई पुरस्कारका लागि छनोट गरेको हो। प्रतिष्ठानमा प्राप्त ११२ पुस्तकमध्ये विस्तारित सूचीका १५ र संक्षिप्त सूचीका पाँच कृतिमध्येबाट ‘सलह’ छनोट भएको हो। काव्यिक भाषा, प्रतीकात्मकता, प्रकृति–चित्रण तथा सीमान्त आवाज, लैङ्गिक विभेद, हिंसा, विस्थापन र पहिचानका जटिल प्रश्नलाई कथामार्फत प्रस्तुत गरेको भन्दै कृतिको विशेषता औँल्याइएको छ। पुरस्कारको राशि तीन लाख रुपैयाँ र सम्मानपत्र रहेको छ।
भोजपुरको दिल्पा ट्याम्केमा वि.सं. २०२५ जेठ २६ गते जन्मिएका मुकारुङले नेपाली साहित्यमा चार दशकभन्दा लामो समयदेखि निरन्तर सिर्जना गर्दै आएका छन्। बाल्यकालदेखि नै साहित्यप्रति आकर्षित उनले कविता, गीत, नाटक, निबन्ध तथा उपन्यासमा आफ्नो विशिष्ट पहिचान बनाएका छन्। वि.सं. २०४९ मा प्रकाशित ‘देश खोज्दै जाँदा’ उनको प्रारम्भिक महत्वपूर्ण कृतिका रूपमा चिनिन्छ भने ‘जीवनको लय’, ‘हिउँको दरबार’, ‘यलम्बर’, ‘फूलको आवाज’, ‘निष्कर्ष’, ‘तर्कहरूको विपक्षमा’, ‘मितिनी’, ‘भावालय’ लगायतका कृतिले उनको सिर्जनात्मक यात्राको विविधता देखाउँछन्। उनी रेडियो नेपालबाट वि.सं. २०४७ मै सर्वश्रेष्ठ गीतकारका रूपमा सम्मानित भइसकेका थिए।
मुकारुङको कवि परिचयलाई व्यापक जनस्तरसम्म पुर्याउने प्रमुख सिर्जनामध्ये ‘बिसे नगर्चीको बयान’ विशेष रूपमा चर्चित छ। २०६२/६३ को जनआन्दोलनको समयसँग जोडिएको यस कविताले इतिहासमा ओझेलमा परेका पात्र र सीमान्त आवाजलाई समकालीन राजनीतिक तथा सामाजिक चेतनासँग जोडेको देखिन्छ। सडक आन्दोलनका क्रममा पटक–पटक वाचन गरिएको यस कविताले उनलाई समकालीन नेपाली कविताको प्रभावशाली स्वरका रूपमा स्थापित गर्यो। ‘पुरानो मानिस’, ‘कविताको पुच्छर’, ‘तिमीसँग हुँदा’, ‘माया’, ‘त्यो भावुक दिन’, ‘मलाई जान देऊ !’, ‘नदीछेउ ध्यान गरिरहेको बकुल्लो’ लगायतका कवितामा पनि मानवीय अनुभूति, सामाजिक प्रश्न र अस्तित्वबोधका विविध पक्ष भेटिन्छन्।
गीतकारका रूपमा पनि मुकारुङको योगदान उत्तिकै महत्वपूर्ण छ। ‘माथि–माथि सैलुङ्गेमा चौँरी डुलाउनेलाई’, ‘तिमी तारेभीर म त लहरा’, ‘बाटो हेरे हुन्छ आमा म त आउँदैछु’, ‘सुन कोसीको सुनको पानी’, ‘अब हाम्रो भेटै हुन्न’, ‘जानु छ साथी मायाको देश’, ‘सुन रे सियाराम’, ‘माइती घर हिउँको दरबार’, ‘गौँथलीझैं यो गाउँमा’ लगायतका गीतले उनलाई लोकप्रिय गीतकारका रूपमा स्थापित गरेका छन्। कुन्ती मोक्तान, पवित्रा सुब्बा, शम्भु राईलगायतका गायक–गायिकाको स्वरमा आएका उनका गीतले प्रेम, प्रकृति, गाउँ, परदेश, सम्बन्ध र सामाजिक जीवनका अनुभूतिलाई सरल तर प्रभावशाली भाषामा प्रस्तुत गरेका छन्। यही कारण उनको साहित्यिक परिचय केवल कविमा सीमित नभई गीतकारका रूपमा पनि बलियो बनेको देखिन्छ।
मुकारुङको सिर्जनायात्रामा ‘सलह’ नयाँ विधागत उचाइका रूपमा आएको छ। प्रकाशकका अनुसार ४४० पृष्ठको यस उपन्यासमा नायुमा लगायतका पात्रमार्फत कथा अघि बढाइएको छ र काव्यिक कथनशैली तथा भाषाको मृदुलता यसको विशेष विशेषता हो। यसरी कविता र गीतमा लामो समयदेखि सामाजिक चेतना, मानवीय संवेदना र सीमान्त आवाजलाई अभिव्यक्ति दिँदै आएका मुकारुङले ‘सलह’मार्फत आख्यानमा पनि आफ्नो सिर्जनात्मक क्षमता प्रस्तुत गरेका छन्। त्यसैले पद्मश्री साहित्य पुरस्कार–२०८२ ‘सलह’लाई प्राप्त हुनु उनको चार दशक लामो साहित्यिक यात्रामा एउटा महत्वपूर्ण सम्मानका रूपमा हेर्न सकिन्छ।
