काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र बृहत्तर एकता कायम गर्दै आगामी १५औँ महाधिवेशन सम्पन्न गर्न आफूले निरन्तर पहल गरिरहेको बताएका छन्। बिहीबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले महाधिवेशनलाई एकताबद्ध ढंगले सम्पन्न गर्नुपर्नेमा जोड दिए।
सभापति थापाले निवर्तमान सभापति शेरबहादुर देउवासहित पूर्वपदाधिकारीहरूलाई महाधिवेशनको प्रक्रियामा सक्रियतापूर्वक सहभागी हुन सार्वजनिक अपिल गरेका छन्। उनले पार्टीको आन्तरिक एकता र महाधिवेशनको सहज वातावरण निर्माणका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए।
बैठकमा बोल्दै थापाले भने, ‘कतिपय साथीहरूले निवर्तमान सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गर्नुपर्छ भन्नुभएको छ। मेरो पनि अनुरोध छ– महाधिवेशन उद्घाटनमा आउनुहोस्।’ बिहीबारको बैठकमा देउवानिकट नेताहरूको समेत उपस्थिति रहेको थियो।
थापाले आफू पार्टीको विधान, संविधान र विधिबाट निर्देशित भएर अघि बढिरहेको उल्लेख गर्दै निर्धारित समयमै महाधिवेशन सम्पन्न हुने स्पष्ट पारे। कांग्रेसको कार्यतालिकाअनुसार आगामी असोज ३ र ४ गते वडा अधिवेशन गर्ने तयारी छ। त्यसपछि विभिन्न तहका अधिवेशन सम्पन्न गर्दै असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन आयोजना गर्ने कार्यतालिका छ।
सभापति थापाले पूर्वसभापति देउवालाई लक्षित गर्दै पार्टीभित्र सहमति र सहकार्यका लागि आफूले आवश्यक सबै पहल गर्न तयार रहेको बताए। ‘म पूर्वसभापति देउवालाई विशेष अनुरोध गर्न चाहन्छु– हामी सँगै बसेर अधिवेशन गर्न नपर्ने कुनै कारण छैन। पार्टीको बृहत्तर एकताका लागि मेरो तर्फबाट गर्नुपर्ने सबै कुरा गर्न म तयार छु,’ उनले भने।
