काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा बुधबार सम्पन्न सभाले विभिन्न वित्तीय तथा संस्थागत प्रस्तावहरू पारित गरेको छ।
सभाले बैंकका अग्राधिकार सेयरधनीहरूका लागि अग्राधिकार सेयर बाँडफाँट भएको मितिदेखि २०८३ साल असार मसान्तसम्मको अवधिका लागि आनुपातिक रूपमा ९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यस्तै, बैंकका अन्य सेयरधनीहरूका लागि चुक्ता पुँजीको १५ प्रतिशत (करसमेत) नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत सभाले अनुमोदन गरेको छ।
साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण पारित गरेको छ। सभाबाट उक्त आवको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँट हिसाब तथा वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पनि सर्वसम्मतिले पारित भएका छन्।
त्यसैगरी, बैंकको बाह्य लेखापरीक्षकका रूपमा एनबीएसएम एन्ड एसोसिएट्सलाई नियुक्त गर्ने प्रस्ताव पनि साधारण सभाले पारित गरेको छ। सभामा सहभागी सेयरधनीहरूले बैंकको वित्तीय अवस्था, लाभांश तथा आगामी रणनीतिसहित विभिन्न विषयमा जिज्ञासा राखेका थिए।
सेयरधनीहरूका जिज्ञासाको जवाफ बैंकका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिएका थिए। सो क्रममा प्रमुख कार्यकारी अधिकृत थकालीले बैंक निरन्तर रूपमा दोहोरो अङ्कमा लाभांश वितरण गर्न सफल हुँदै आएको बताए। उनले आगामी दिनमा संस्थालाई थप दिगो, सबल र प्रतिस्पर्धी बनाउँदै लैजान बैंक प्रतिबद्ध रहेकोसमेत स्पष्ट पारे।
