काठमाडौं । यही भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गरिमा विकास बैंक लिमिटेडले कुल १ करोड १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। बैंकले संस्थागत तथा कर्मचारीहरूको सहभागितामा उक्त सहयोग गर्ने जनाएको हो।
बैंकका अनुसार कर्मचारीहरूको तर्फबाट एक दिनको तलब तथा भत्ताबापत १६ लाख २० हजार ५ सय ५० रुपैयाँ र बैंकको तर्फबाट ३४ लाख ९० हजार ५ सय ६१ रुपैयाँ गरी कुल ५१ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको छ। उक्त रकम बाढीबाट प्रभावित विभिन्न जिल्लाका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा उपयोग हुने जनाइएको छ।
यसैगरी, गरिमा विकास बैंकले प्रभावित क्षेत्रका नागरिकको शिक्षा, स्वास्थ्य तथा पुनःस्थापना सम्बन्धी कार्यक्रमका लागि संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषबाट थप ५० लाख रुपैयाँ बराबरको प्रत्यक्ष सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। स्थानीय तहसँगको समन्वयमा आवश्यकताका आधारमा उक्त सहयोग परिचालन गरिने बैंकले जनाएको छ।
बैंकले भोटेकोशी बाढीका कारण उत्पन्न कठिन परिस्थितिमा प्रभावित नागरिकको उद्धार तथा पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी निकाय, स्थानीय समुदाय र विभिन्न संघसंस्थाबीचको सहकार्य आवश्यक रहेको जनाएको छ। विपद्को समयमा सबै सरोकारवालाबीचको समन्वय र सहकार्यबाट राहत, पुनःस्थापना तथा पुनर्निर्माणका कार्यलाई थप प्रभावकारी बनाउन सकिने बैंकको विश्वास छ।
गरिमा विकास बैंकले बाढी तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनःस्थापनाको कामना गर्दै विपद्को यस कठिन घडीमा प्रभावित समुदायलाई आवश्यक सहयोग निरन्तर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
