खाेटाङ। दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका लाभग्राहीको भत्ता नवीकरण गर्न विभिन्न स्थानमा विशेष शिविर सञ्चालन गर्ने भएको छ।
गाउँपालिकाभन्दा बाहिर बसोबास गरिरहेका तथा सम्बन्धित वडा कार्यालयसम्म पुग्न कठिन हुने लाभग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले काठमाडौं, इटहरी र गाईघाटमा शिविर सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ।
काठमाडौंको चाबहिल चोकमा असोज ३ गते शनिबार, इटहरीमा असोज ५ गते सोमबार र गाईघाटमा असोज ६ गते मंगलबार शिविर सञ्चालन हुनेछ। तीनवटै स्थानमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म सेवा प्रदान गरिनेछ।
भत्ता नवीकरणका लागि लाभग्राहीले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, राष्ट्रिय परिचयपत्रको प्रतिलिपि र पासपोर्ट साइजको एक प्रति फोटो ल्याउनुपर्नेछ। विधवा तथा एकल महिलाले पतिको मृत्यु दर्ता प्रमाणपत्र र अपाङ्गता भएका लाभग्राहीले अपाङ्गता परिचयपत्रको प्रतिलिपि समेत पेश गर्नुपर्नेछ।
गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका सम्पूर्ण लाभग्राहीलाई तोकिएको मिति, समय र स्थानमा आवश्यक कागजातसहित उपस्थित भई समयमै भत्ता नवीकरण गराउन अनुरोध गरेको छ।
