काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज बाढी प्रभावित क्षेत्र नुवाकोट जाने भएका छन्। बाढी तथा पहिरोबाट प्रभावित नागरिकको अवस्था बुझ्न र राहत सामग्री लिएर देउवा नुवाकोट जान लागेका हुन्।
देउवा आज बिहान ९ बजे काठमाडौँबाट स्थलगत मार्ग हुँदै नुवाकोटतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन्। उनले बाढी प्रभावितका लागि आवश्यक राहत सामग्रीसमेत लिएर जाने बताइएको छ।
नुवाकोट पुगेपछि देउवाले बिहान ११ बजे नेपाली कांग्रेस नुवाकोटको पार्टी कार्यालयमा पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गर्नेछन्। सो क्रममा उनले जिल्लामा बाढीबाट भएको क्षति, प्रभावितको अवस्था तथा राहत तथा उद्धारका विषयमा जानकारी लिने कार्यक्रम रहेको छ।
त्यसपछि देउवाले विदुर नगरपालिका–४ स्थित ढुङ्गे क्षेत्रमा बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षण गर्नेछन्। उनले प्रभावित क्षेत्रका स्थानीयसँग भेट गरी उनीहरूको समस्या तथा आवश्यकताबारे समेत जानकारी लिने बताइएको छ।
ढुङ्गेको निरीक्षणपछि देउवा देवीघाट क्षेत्रमा पुगेर बाढीबाट भएको क्षतिको अवलोकन गर्ने कार्यक्रम रहेको छ। नुवाकोटका प्रभावित क्षेत्रको स्थलगत निरीक्षण सम्पन्न गरेपछि देउवा आजै काठमाडौँ फर्किने कार्यक्रम तय भएको छ।
