काठमाडौं । संघीय संसद् राष्ट्रिय सभाको एघारौँ अधिवेशनअन्तर्गत बुधबार बस्ने ४४औँ बैठकमा दुई वटा मुख्य कार्यसूची प्रस्तुत हुने भएका छन्। राष्ट्रिय सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित दैनिक कार्यसूचीअनुसार बैठक दिउँसो १ः१५ बजे बस्नेछ।
बैठकमा सम्माननीय अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्का सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा सभालाई जानकारी गराउने कार्यक्रम रहेको छ। उक्त पत्रमार्फत मन्त्रिपरिषद्का सदस्यहरूलाई तोकिएको कार्यभारबारे सदनलाई औपचारिक जानकारी गराइनेछ।
त्यसैगरी, बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ।
राष्ट्रिय सभा सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सम्भावित दैनिक कार्यसूचीमा यी दुई विषय उल्लेख छन्। बैठक २०८३ भदौ २४ गते बुधबार दिउँसो १ः१५ बजे संघीय संसद् भवनमा बस्नेछ।
