भक्तपुर । भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा भक्तपुरमा अस्थायी बसोबास गर्दै आएका अबिषेक चौलागाईं र योगेन्द्र न्यौपाने (रोशन)ले ज्यान गुमाएका थिए । आन्दोलनको एक वर्ष पुग्दै गर्दा शहीद योगेन्द्रको परिवार भने भक्तपुरबाट आफ्नो पुर्ख्यौली थलो सिन्धुली पुगेको छ ।
सिन्धुलीको गोलन्जर गाउँपालिकामा योगेन्द्रका बुवा युवराज न्यौपाने र आमा लक्ष्मी न्यौपानेले छोराको सम्झनामा करिब एक रोपनी सरकारी जग्गामा स्मृति पार्क निर्माण गरेका छन् । पार्कको मंगलबार, भदौ २३ गते उद्घाटन गर्ने कार्यक्रम तय भएको योगेन्द्रकी सानीआमा तारा रोक्काले जानकारी दिइन् ।
घरका जेठा छोरा योगेन्द्र सरकारी शिक्षक रहेका पिता युवराज र आमा लक्ष्मीका लागि परिवारको सहारा मात्र नभई देशका लागि केही गर्ने सपना बोकेका युवा थिए । योगेन्द्र त्यतिबेला अधिकृत तहको लोकसेवा परीक्षाको तयारी गरिरहेका थिए ।
आन्दोलनको अघिल्लो दिन भदौ २२ गते गाउँमा रहेका बेला उनले ‘भदौ २३ गते सबैजना आन्दोलनमा जानुपर्छ, देशमा रहेको राजनीतिक बेथिति हटाउनुपर्छ’ भन्दै युवाहरूलाई उत्साहित गरिरहेको सानीआमा रोक्का सम्झिन्छिन् । तर, देश र व्यवस्थामा परिवर्तनको सपना बोकेर आन्दोलनमा निस्किएका योगेन्द्र आज परिवार र आफन्तका लागि सम्झनामा मात्र सीमित भएका छन् ।
भदौ २३ गते दिउँसो करिब १ बजे योगेन्द्रलाई गोली लागेको खबर परिवारले पाएको थियो । उनलाई भेट्न परिवारजन बानेश्वरस्थित अस्पताल पुग्दा उनीहरूका लागि सबैभन्दा पीडादायी खबर प्रतीक्षामा थियो—योगेन्द्रको निधन भइसकेको थियो । घटनाको एक वर्ष बितिसक्दा पनि त्यो क्षण सम्झँदा आँखाबाट आँसु थाम्न नसक्ने सानीआमा रोक्का बताउँछिन् । ‘हामीले हाम्रो छोरा गुमायौँ, अब फेरि कुनै पनि आमाको कोख रित्तिन नपरोस्’ भन्ने उनको भावुक आग्रह छ ।
योगेन्द्रको बलिदानको सम्झनामा निर्माण गरिएको स्मृति पार्कले परिवारको पीडा र युवाले बोकेको परिवर्तनको सपनालाई पुस्तौँसम्म सम्झाउने प्रयास गरेको छ । तर, यहाँबाट सरकार र राज्यसामु एउटा गम्भीर प्रश्न पनि उठेको छ—जेन्जी आन्दोलनमा योगेन्द्रसहित युवाहरूले दिएको बलिदानबाट देशले के पायो ? जनताले के पाए ? र उनीहरूले परिवर्तनका लागि उठाएको आवाजअनुसार राज्य व्यवस्था कति बदलियो ? शहीदको बलिदानलाई केवल स्मृति दिवस, भाषण र श्रद्धाञ्जलीमा सीमित राखेर उनीहरूले उठाएका प्रश्न र मागलाई बेवास्ता गर्ने हो भने त्यो बलिदानको अर्थ के रहन्छ भन्ने प्रश्न अहिले पनि उत्तिकै गम्भीर छ ।
सानीआमा रोक्काले शहीद परिवारलाई सरकारले गरेको प्रतिबद्धता र बाचा नबिर्सन आग्रह गरेकी छन् । उनका अनुसार परिवारले छोराको मृत्युको पीडा बोकेर बसिरहँदा राज्यले शहीद परिवारप्रति आफ्नो दायित्व पूरा गर्नुपर्छ । योगेन्द्रजस्ता युवाको रगतले परिवर्तनको बाटो खोल्ने भनिएको थियो—अब सरकारले स्पष्ट जवाफ दिनुपर्छ, त्यो बलिदानबाट देश, जनता र व्यवस्थाले वास्तवमै के पाए ? परिवारको पीडालाई सम्मान गर्ने सबैभन्दा ठूलो माध्यम शहीदको नाममा कार्यक्रम गर्नु मात्र नभई उनले देखेको न्यायपूर्ण, सुशासित र जिम्मेवार राज्य निर्माण गर्नु होइन र ?
