काठमाडौं । भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले पुनःस्थापना कार्यलाई तीव्रता दिएका छन्। बाढीबाट क्षतिग्रस्त विद्युत् संरचनाको मर्मत तथा पुनर्निर्माण गर्दै सेवा नियमित बनाउन प्राधिकरणका प्राविधिक टोली परिचालन गरिएको छ।
मन्त्रालयका अनुसार प्रतिकूल मौसम र भौगोलिक कठिनाइका बाबजुद प्रभावित जिल्लाहरूमा विद्युत् सेवा पुनःस्थापनाको काम उल्लेखनीय रूपमा अघि बढेको छ। विशेषगरी धादिङ, नुवाकोट र रसुवा जिल्लामा विद्युत् सेवा पुनः सञ्चालनका लागि प्राधिकरणले प्राथमिकताका साथ काम गरिरहेको जनाएको छ।
हालसम्म धादिङका करिब ९९.८ प्रतिशत घरधुरीमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको मन्त्रालयले जनाएको छ। बाढीका कारण केही स्थानमा विद्युत् संरचनामा क्षति पुगे पनि अधिकांश क्षेत्रमा मर्मत तथा वैकल्पिक व्यवस्थामार्फत सेवा पुनः सुचारु गरिएको हो।
त्यस्तै, नुवाकोटमा करिब ९६.७ प्रतिशत घरधुरीमा विद्युत् सेवा पुनः सञ्चालन गरिएको छ। बाढी र पहिरोका कारण क्षतिग्रस्त संरचनाको मर्मतसँगै बाँकी क्षेत्रमा पनि विद्युत् आपूर्ति नियमित बनाउन प्राविधिक टोलीले काम गरिरहेको मन्त्रालयले जनाएको छ।
रसुवामा भने करिब ७८ प्रतिशत घरधुरीमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ। बाढीबाट विद्युत् पोल, तार तथा अन्य पूर्वाधारमा क्षति पुगेका कारण रसुवाका केही दुर्गम तथा प्रभावित क्षेत्रमा सेवा पुनःस्थापनामा चुनौती देखिएको छ।
मन्त्रालयका अनुसार बाँकी क्षेत्रमा पनि विद्युत् सेवा छिटोभन्दा छिटो पुनः सुचारु गर्न नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोलीहरू प्रभावित क्षेत्रमा परिचालन भइरहेका छन्। प्रतिकूल मौसमका बाबजुद क्षतिग्रस्त संरचनाको मर्मत र विद्युत् आपूर्ति पुनःस्थापनालाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ।
