काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका व्यक्तिको स्याहारका लागि १ हजार ४६४ जना सहायक कामदार माग गरिएको छ। वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै महिला र पुरुष दुवैका लागि रोजगारीको आवेदन खुलाएको हो।
विभागका अनुसार माग गरिएका कामदारमध्ये १ हजार १३२ जना महिला र ३३२ जना पुरुष छन्। आवेदन दिन इच्छुक नेपाली नागरिकको उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। आवेदन भदौ २३ गते राति १२ बजेदेखि असोज २६ गते राति ११ः५९ बजेसम्म अनलाइनमार्फत दिन सकिनेछ।
इच्छुकले वैदेशिक रोजगार विभागको वेबसाइटअन्तर्गत रहेको FERMS प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। छनोट भएका कामदारले मासिक ६ हजार ४४३.८५ इजरायली शेकेल तलब पाउनेछन्। इजरायली सरकारको प्रचलित नियमअनुसार ओभरटाइम सुविधा समेत उपलब्ध हुने विभागले जनाएको छ।
कामदारले सातामा ४२ घण्टा अनिवार्य काम गर्नुपर्नेछ भने सातामा एक दिन बिदा पाउनेछन्। वार्षिक बिदा भने इजरायलको प्रचलित कानुनअनुसार हुने बताइएको छ।
कामदारका लागि खानाको व्यवस्था रोजगारदाताले नगर्ने भए पनि बसोबासको व्यवस्था कम्पनीले गर्नेछ। यद्यपि, बसोबासबापत लाग्ने खर्च कामदार स्वयंले व्यहोर्नुपर्ने सूचनामा उल्लेख छ।


