काठमाडौं । भोटेकोसी बाढीपहिरो पीडितका नाममा राहत संकलन गर्ने क्रममा रास्वपा चन्द्रागिरिका केही नेताहरूले जिल्ला प्रशासन कार्यालयको सूचनालाई बेवास्ता गर्दै व्यक्तिगत बैंक खाता, क्यूआर कोड तथा नगदमार्फत रकम संकलन गरेको आरोप लागेको छ।
प्रशासनले राहत संकलनलाई एकद्वार प्रणालीमार्फत व्यवस्थापन गर्न तथा नगद सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मात्र जम्मा गर्न आग्रह गरेको अवस्थामा समेत व्यक्तिगत रूपमा रकम संकलन गरिएको आरोपले कानुन र प्रशासनिक निर्देशनकै खिल्ली उडाइएको भन्दै प्रश्न उठेको छ।
रास्वपाका क्षेत्रीय सभापति रामराजा थापा, नगर सभापति जनार्दन केसीलगायतको टोलीले यस्तो रकम संकलन गरेको दाबी गरिएको छ। यस विषयमा सम्बन्धित निकायले आवश्यक छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने मागसमेत उठेको छ।
