अर्चना झा, काठमाडौँ । काठमाडौँमा रहेको सखी बहिनपा समूहले रसुवा बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चार लाख रुपैयाँ सहयोग गरेको छ। नेपाल तथा भारतका मिथिला क्षेत्रका दिदीबहिनीहरूबाट संकलित रकम समूहले राहत कोषमा जम्मा गरेको हो।
सामाजिक सञ्जाल फेसबुकमार्फत स्थापना गरिएको सखी बहिनपा समूहले मिथिला क्षेत्रमा बोलिने भाषा, धर्म, संस्कृति, सीप, संस्कार तथा रीतिरिवाजको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न गतिविधि गर्दै आएको छ। समूहमा नेपाल र भारतलगायत विभिन्न देशमा रहेका सयौँ मिथिला क्षेत्रका दिदीबहिनीहरू सामाजिक सञ्जालमार्फत जोडिएका छन्।
सखी बहिनपा समूहकी संस्थापक आरती झाको पहलमा नेपाल र भारतका दिदीबहिनीहरूबाट रकम संकलन गरी उक्त सहयोग गरिएको हो। समूहकी सदस्य स्मिता झाका अनुसार तीज र गणेश चौथीको अवसरमा शुभकामना आदानप्रदान तथा धार्मिक–सांस्कृतिक कार्यक्रम गर्ने तयारी भइरहेको थियो। तर, भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण ठूलो विपद् सिर्जना भएपछि कार्यक्रमका लागि छुट्याइएको रकमलाई पीडितको राहतमा समर्पण गर्ने निर्णय गरिएको हो।
झाका अनुसार, “हामी धर्म, संस्कार र संस्कृति अनुसार जितियाको शुभकामना कार्यक्रम गर्ने तयारीमा थियौँ। त्यही समयमा देशमा ठूलो विपत्ति आयो। रमाइलो र शुभकामना आदानप्रदानमा मात्र सीमित हुनुभन्दा विपद्मा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई सहयोग गर्नु नै अहिलेको आवश्यकता हो भन्ने महसुस भयो। त्यसपछि नेपालका हामी दिदीबहिनीहरू र भारतका मिथिला क्षेत्रका दिदीबहिनीहरू मिलेर रकम संकलन गरी चार लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हौँ।”
त्यसैगरी सदस्य अर्चना झाले, ‘विपद्को समयमा सहयोग गर्नु नै सबैभन्दा ठूलो मानवीय धर्म भएको बताइन्।’ ‘समूहले सांस्कृतिक पहिचान र परम्पराको संरक्षणसँगै सामाजिक सेवाका क्षेत्रमा पनि एकजुट भएर काम गर्दै आएको उहाँको भनाइ छ।’
नेपाल र भारतका मिथिला क्षेत्रबीच सदियौँ देखि रहेको सामाजिक, सांस्कृतिक तथा पारिवारिक सम्बन्धलाई पनि यस सहयोगले थप मजबुत बनाएको झाको भनाइ छ। “नेपाल र भारतका मिथिला क्षेत्रका दिदीबहिनीबीच गहिरो पारिवारिक तथा आत्मीय सम्बन्ध छ। कसैको माइती नेपालमा छ भने ससुराली भारतमा, कसैका आफन्त भारतमा छन् भने कसैका नेपालमा छन्। रोटी–बेटीको सम्बन्धले जोडिएका हामीबीचको आत्मीयता विपद्को समयमा अझ प्रस्ट देखिएको छ,” उनले भनिन्।
सदस्य रजनी झाले, ‘भारतका मिथिला क्षेत्रका दिदीबहिनीहरूले नेपालमा आएको विपत्तिमा सहयोग गरेकोमा झा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै मानवीय तथा सामाजिक कार्यमा नेपाल–भारतका दिदीबहिनीहरूबीच सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरिन्।
सखी बहिनपा समूहले आगामी दिनमा मिथिलाको भाषा, धर्म, संस्कृति, कला, सीप, संस्कार र परम्पराको संरक्षणसँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत सामूहिक रूपमा काम गर्दै जाने जनाएको छ।
