काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार गरेको सहसचिव तथा उपसचिवहरूको सरुवा तथा पदस्थापनसँगै खोटाङकी प्रमुख जिल्ला अधिकारी (सीडीओ) रेखा कँडेलको पनि सरुवा भएको छ। मन्त्रीस्तरीय निर्णयअनुसार कँडेललाई दोलखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।
कँडेल यसअघि खोटाङको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिइन्। गृह मन्त्रालयले गरेको पछिल्लो निर्णयअनुसार उनलाई खोटाङबाट सरुवा गरी दोलखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको हो।
कँडेलको सरुवासँगै खोटाङमा महेश कुमार गुरुङलाई नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ। मन्त्रालयको निर्णयअनुसार उपसचिव गुरुङलाई खोटाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको हो।
गृह मन्त्रालयले शुक्रबार १४ जना सहसचिव र ९ जना उपसचिव गरी २३ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ। निर्णयसँगै झापा, सुर्खेत, बारा, गोरखा, रौतहट, दोलखा, पर्वतलगायत जिल्लाका प्रमुख जिल्ला अधिकारीसमेत फेरिएका छन्।
उपसचिवतर्फ कुलेश्वर अर्याललाई भोजपुर, नवराज बराललाई जाजरकोट, बन्दना केसीलाई सल्यान, गणेश गैरेलाई म्याग्दी र बेदराज फुयाँललाई डडेल्धुराको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। यस्तै अमरबहादुर वलीलाई बाँकेको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ।

