रसुवा । रसुवामा आएको विनाशकारी बाढीपछि बाजुराका एक दम्पती अझै सम्पर्कविहीन रहेका छन्। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३ स्थायी घर भएका वीरेन्द्र जोशी र उनकी श्रीमती सत्या जोशी बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा नआएका हुन्।
जोशी दम्पती कामको सिलसिलामा केही समयदेखि रसुवा भन्सार कार्यालय आसपास बस्दै आएका थिए। रसुवामा बाढी आएपछि उनीहरूसँग सम्पर्क हुन नसकेको परिवारले जनाएको छ। बाढीपछिका दिनमा परिवारले फोन तथा अन्य माध्यमबाट सम्पर्क गर्ने प्रयास गरे पनि हालसम्म उनीहरूको अवस्थाबारे कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन।
सम्पर्कविहीन भएपछि आफन्तहरूले सम्भावित स्थानमा खोजी गर्नुका साथै सम्बन्धित सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँग समन्वय गरिरहेका छन्। लामो समयसम्म उनीहरूको अवस्थाबारे जानकारी नआएपछि परिवार थप चिन्तित बनेको छ।
परिवारले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यमा संलग्न सुरक्षा निकाय, प्रशासन र अन्य सम्बन्धित निकायलाई वीरेन्द्र र सत्या जोशीको खोजीलाई प्राथमिकतामा राखिदिन आग्रह गरेको छ। उनीहरू बाढीका क्रममा कहाँ पुगे भन्नेबारे समेत परिवारसँग यकिन जानकारी छैन।
सम्पर्कविहीन दम्पतीका छोरा सन्तोष जोशीले आफ्ना बुवा–आमाको अवस्थाबारे कुनै जानकारी प्राप्त भए तत्काल परिवारलाई खबर गरिदिन आग्रह गरेका छन्। वीरेन्द्र जोशी र सत्या जोशीबारे कुनै जानकारी भए ९८६०७९२९३९ मा सम्पर्क गर्न परिवारले अनुरोध गरेको छ।
